शान्ति सुब्बा
झापा, १८ माघ २०७८ । झापामा अग्रपंतिमा खटिने ४ हजार २ सय १६ जनाले कोभिड-१९ विरुद्धको थप(बुस्टर)डोज लगाएका छन् । जिल्लामा यहि माघ २ गतेदेखि सञ्चालनमा आएको बुस्टर डोज अग्रपंतिमा रहेकालाई पहिलो प्राथमिकता दिँदै लगाउन थालिएको हो ।
स्वास्थ्य कार्यालय झापाका तथ्यांक अधिकृत चुडामणी लुईंटेलका अनुसार जिल्लाका १५ वटा पालिकाबाट हिंजो(सोमबार)सम्म प्राप्त भएको तथ्यांक अनुसार अग्रपंतिमा खटिने ४ हजार २ सय १६ जनाले हालसम्म पूर्ण खोप लगाएको जानकारी दिनुभयो । जस अन्तर्गत ३ हजार ९ सय २६ जनाले कोभिशिल्ड,एस्ट्राजेनेका र २ सय ९० जनाले भेरोसेलको बुस्टर डोज लगाएका छन् । जसअनुसार असार मसान्त सम्म पहिलो र दोस्रो डोज लगाइसकेका ६ महिना अवधि पुगेका जो अग्रपंत्तिमा रहेर खटिदै आएका छन् उनिहरुलाइ नै अहिले बुस्टर डोज लगाउने तथ्यांक अधिकृत लुईंटेलले बताउनुभयो ।
बुस्टर डोज भनेको थप डोज भएकोले पहिलो र दोस्रो डोज एउटै लगाएको भएपनि बुस्टर डोजको रुपमा विज्ञले प्रमाणित गरेको कोभिशिल्ड वा एस्ट्राजेनेका खोप लगाउँदा केही असर नगर्ने बताउनु भएको छ । यस्तै नेपाल सरकार बाट पनि सोहि आदेश आएकोले त्यसै अनुसार बुस्टर डोज लगाइने अधिकृत लुईंटेलले बताउनुभयो ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा हालसम्म १८ वर्ष माथिका ४ लाख ९६ हजार जनाले पहिलो डोज लगाएका छन् भने, ४ लाख ५१ हजार ५ सय ४४ जनाले दोस्रो डोज लगाइसकेका छन् । यस्तै, स्वास्थ्य कार्यालय झापाले दोस्रो डोज लगाएको ६ महिना अवधि पुरा गरेका सम्पूर्णलाई क्रमश बुस्टर डोज दिने तयारी गरेको छ । हाल सबै पालिकामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि मोर्डना खोप सञ्चालनमा रहेकोले १ लाख ५ हजार बालबालिकालाई पहिलो डोज दिइने लक्ष्य रहेकोमा जिल्लामा १ लाख १० हजार मोर्डना खोप मौज्दात रहेको बताइएको छ ।






