Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

धनगढी, २१ कात्तिक । जिल्ला प्रहरी कार्यालय कैलालीले जुवातास खेलिरहेका २० जना जुवाडेहरुलाई २ लाख ७४ हजार ८ सय ४५ रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई छुटाउन प्रदेशका मन्त्रीका पिएदेखि स्थानीय राजनैतिक दलका प्रमुखहरुले समेत दवाव दिएको प्रहरी स्रोतले बतायो ।

मंगलबार राति करिब साढे ११ बजेको समयमा धनगढी उपमहानगरपालिका ३ बाट ९ जना जुवाडे १ लाख २९ हजार १ सय ३५ रुपैयाँ र वडा नम्बर १ बाट ११ जना जुवाडे १ लाख ४५ हजार ७ सय १० रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

चाडबाडबाडको बेला हुने जुवातासमा प्रहरीको समेत सेटिङ हुने आरोप आइरहेको बेला प्रहरीले २० जना जुवाडेहरु पक्राउ गरेको हो । गएराति अबेरसम्म प्रहरीलाई जुवाडे छोड्न सुदूरपश्चिम प्रदेशका मन्त्रीका पिए, सांसद र विभिन्न राजनैतिक दलका प्रमुखहरुले दबाव दिएको एक प्रहरी अधिकारीले बताए ।

यसबारे जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख वलीसँग सम्पर्क राख्दा उनले दवाव आएपनि कसले दवाव दिएको भन्नेबारे बताउन चाहेनन् । उनले भने, ‘काम गर्दै जाँदा यस्ता दबावहरु आउने नै भए, तर दबाव दिएकै भरमा जुवाडेहरुलाई छाडिदैन ।’

पछिल्लो पटक कैलाली प्रहरीले राजनैतिक दबाव नमानेको भन्दै विभिन्न राजनैतिक दलका नेताहरुले प्रहरी प्रमुख परिवर्तन गर्न गृह मन्त्रालयसम्म धाएको चर्चा कैलालीमा चलेको छ ।

पक्राउ परेकाहरुलाई अदालत खुल्नेवित्तिकै जुवा कसुर अन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments