गौरादह, २३ भदौ २०७८ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४० संक्रमित थपिंदा एकैदिन २ हजार १ सय ६१ जना डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट ९ हजार ७ सय ६७ र एन्टिजेन परिक्षणबाट ३ हजार ६ सय ८८ जना गरी कुल १३ हजार ४ सय ५५ जनामा कोरोना परिक्षण गर्दा १ हजार ६ सय ४० जना नयाँ संक्रमित थप भएका छन्। जसमा पीसीआर परिक्षणबाट १ हजार ३ सय ४७ र एन्टिजेन परिक्षणबाट २ सय ९३ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ७३ हजार ५ सय २९ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८६ हजार ६ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ५९ हजार ५ सय ३५ पुगेको जनाइएको छ । एकैदिन २ हजार १ सय ६१ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ३३ हजार १ सय ६१ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.८ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३९ लाख ९० हजार ५ सय ९९ जना र एन्टिजेन परिक्षणबाट ४ लाख ९९ हजार ७ सय २५ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा २७ हजार ६ सय ९० जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ७ सय ८९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ४ सय ८८ जना आई।सी।युमा र १ सय ४० जना भेन्टिलेटरमा रहेका छन् । २ सय ५६ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, २९ हजार ५ सय ७९ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा १ लाख २३ हजार २ सय ८६ जनाले खोप लगाएको जनाइएको छ ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १७ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २१ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज १० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






