गौरादह, २२ भदौ २०७८ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७७ संक्रमित थपिंदा एकैदिन २ हजार ७२ जना डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट ११ हजार १ सय ११ र एन्टिजेन परिक्षणबाट ३ हजार ९ सय २३ जना गरी कुल १५ हजार ३४ जनामा कोरोना परिक्षण गर्दा १ हजार ६ सय ७७ जना नयाँ संक्रमित थप भएका छन्। जसमा पीसीआर परिक्षणबाट १ हजार ४ सय २३ र एन्टिजेन परिक्षणबाट २ सय ५४ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ७२ हजार १ सय ८२ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८५ हजार ७ सय १३ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ५७ हजार ८ सय ९५ पुगेको जनाइएको छ । एकैदिन २ हजार ७२ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.७ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३९ लाख ८० हजार ८ सय ३२ जना र एन्टिजेन परिक्षणबाट ४ लाख ९६ हजार ३७ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा २८ हजार ३ सय १४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ९ सय ८९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय १४ जना आई।सी।युमा र १ सय ५४ जना भेन्टिलेटरमा रहेका छन् । २ सय ५८ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३० हजार ३ सय ३ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा ८० हजार ४ सय जनाले खोप लगाएको जनाइएको छ ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १७ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २१ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






