गौरादह, ४ भदौ २०७८ । देशभर आज ३ हजार ४२ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १० हजार ५ सय ३० र एन्टिजेन परिक्षणबाट ७ हजार १ सय २४ जना गरी कुल १७ हजार ४ सय ३८ जनामा कोरोना परिक्षण गर्दा ३ हजार ४२ जना नयाँ संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट २ हजार ७९ र एन्टिजेन परिक्षणबाट ९ सय ६३ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ४४ हजार ३ सय ७ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ७९ हजार ३ सय ४९ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख २३ हजार ६ सय ५६ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय ४४ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.१ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३८ लाख १३ हजार ५ सय ४५ जना र एन्टिजेन परिक्षणबाट ४ लाख २४ हजार १ सय १० जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा ३६हजार ९ सय २२ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ८७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय १४ जना आई।सी।युमा र १ सय ७१ जना भेन्टिलेटरमा रहेका छन् । ४ सय ४६ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ४० हजार ३ सय ९ पुगेको जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ लाख ८० हजार २८ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २१ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






