Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा,१८ वैशाख २०७८ । नेपालमा आज एकैदिन थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परिक्षणबाट ५ हजार ७ सय ६ र एन्टिजेन परिक्षणबाट ५७ जनामा संक्रमण पुष्टी भएको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ८८ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ८२ हजार ३ सय ८२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ४ सय ३ जना र एन्टिजेन परिक्षणबाट ५ सय ६६ जना गरि कुल १४ हजार ९ सय ६९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २४ लाख ८८ हजार ३ सय ५९ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख ५८ हजार २ सय १८ जनाको र निजी बाट ९ लाख ३० हजार १ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ६७ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ४३ हजार २ सय १३ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ४० हजार १ सय ३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार १ सय १० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ४ सय १ जना आइसियुमा र १ सय १० जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । यस्तैगरि २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा, सुनसरी, बारा, धनुषा, रौतहट, मकवानपुर, काभ्रेप्लान्चोक, नुवाकोट, गोर्खा, नवलपरासी(पूर्व), बाग्लुंग, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी(पश्चिम) र कंचनपुर रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या १९ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments