Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

सबिन खतिवडा
गौरादह, ९ बैशाख । झापाको गौरादहमा २५ सैयाको अस्पताल संचालनमा आउने भएको छ । मेडिम्याक्स अस्पताल प्रा.ली. गौरादह– १ ले जेठको दोस्रो साताबाट डिपु चोकदेखि ३०० मिटर पूर्व बजार लाइनमा भाडाको घरमा सो अस्पताल संचालन गर्नेभएको हो ।

अस्पतालमा आकस्मिक सेवा, हाइकेयर युनिट, सुविधासम्पन्न सल्यक्रिया कक्ष, प्याथोलोजी, इन्डोस्कोपी, अल्ट्रासाउण्ड, एक्सरे, कार्डियो इसिजि लगाएतका थुप्रै सेवाहरु रहने संचालक डा. तिलक खनालले बताए । उनका अनुसार अस्पतालमा सर्जन, स्त्रीरोग विशेषज्ञ र फिजिसियन गरी तीनजना चिकित्सकहरुले नियमित रुपमा दैनिक सेवा उपलब्ध गराउने छन् ।

प्रसुति वार्ड तथा प्रसुति सल्यक्रिया कक्ष, डाइबिटिज वार्ड तथा डाइबिटिज केयरिङ डेक्स,  लगाएतका बिभिन्न महत्वपूण वार्डहरु अस्पताल संचालन भएकै दिन देखि सेवा उपलब्ध गराउने खनालले जनकारी गराए । त्यसैगरी अस्पतालमा विशेषज्ञ सेवा मुटुरोग, हाडजोर्नी, छाला रोग, बाल रोग लागाएतको सेवा पनि उपलब्ध गराइने छ ।

करिब ३ करोडको लगानिमा संचालनमा ल्याउन लागेको २५ सैयाको सो अस्पताल संचालनमा आएपछि उपचारका लागि गौरादह क्षेत्रका बिरामीले दमक, विर्तामोड, धरान र विराटनगर धाउनु पर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको अस्पताल संचालन बोर्डका अध्यक्ष बुद्धिमान कार्कीले बताए ।

विरामीहरूको उपचारका लागि आवश्यक आधुनिक उपकरणहरू खरिदको तथा सेटअपको व्यवस्था मिलाइ सकेको जानकारी दिँदै अध्यक्ष कार्कीले गौरादहमा सहज स्वास्थ्य सेवाको स्थापनाका लागि तयारी अन्तिम चरणमा पुगेको बताए ।

अस्पताल सञ्चालनमा आएसंगै अनुभवि डाक्टरहरु, नर्स लगाएत ५० जना जनशक्तिलाई रोजगारीको अवसर जुट्नुका साथै उक्त अस्पतालबाट गौरादह नगरभरिका नगरिकसहित कमल र गौरीगञ्ज गउँपालिकाका नागरिकले पनि सेवा पाउने भएका छन् ।

गौरादहका स्थानीय समाजसेवी, उद्योगी तथा ब्यवसायीहरुको लगानीमा संचालित यस मेडिम्याक्स अस्पताल प्रा.ली.को संचालक बोर्डमा अध्यक्ष बुद्धिमान कार्की, प्रबन्ध संचालक टेकबहादुर कार्की र संचालकहरुमा डा. तिलक खनाल, टिकाप्रसाद श्रेष्ठ, पुण्य सिग्देल, बिनिता कट्वाल र नारायण घिमिरे सहित सातजना रहेका छन् ।

अस्पताल नयाँ बर्ष २०७८ बैशाखबाट संचालन गर्ने तयारी गरिएको भएता पनि भौतिक निर्माण र प्राबिधिक तयारी नपुगेको कारण जेठको दोस्रो हप्ताबाट भने संचालन हुने अन्तिम तयारी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments