झापा,७ वैशाख २०७८ । देशभर प्रत्येक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टी भएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको जनाइएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ सय ५१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७५ हजार ८ सय ६ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ७ सय ३८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २३ लाख ६० हजार ५ सय ५७ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख ५ हजार ५ सय ४० जनाको र निजी बाट ८ लाख ५५ हजार १७ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ९२ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई ८ हजार ६ सय ५९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ७ हजार ९ सय ७४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ सय ८५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ सय ६० जना आइसियुमा र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या ११ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५० र निजी ३६ गरि ८६ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






