झापा,२ वैशाख २०७८ । मुलुकभर आज एकैदिन थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए सँगै कोरोना संक्रमणको दर पूनः वृद्धि हुन थालेको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको जनाइएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ सय ५७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७४ हजार ६ सय ४ जना पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार १ सय ५२जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २३ लाख २९ हजार ५ सय ४७ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म ६८ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई ४ हजार ३ सय ८४ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ३ हजार ८ सय ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ४ सय ९० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९१ जना आइसियुमा र ३५ जना भेन्टिलेटरमा रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या ५ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको मन्त्रालयले जनाएको छ ।






