काठमाडौं, २२ चैत २०७७ । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बुधबारदेखि लगाउन सुरु गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड-१९ को ब्रिफिङका लागि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले चीन सरकारबाट प्राप्त खोप चैत २५ गते बुधबारबाट काठमाडौंका तोकिएका अस्पतालमा दिने प्रबन्ध मिलाइएको जानकारी दिएका हुन् ।
अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु, चिनियाँ सरकारको छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालयपार व्यापार, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्तिहरुले लगाउन सक्ने प्रवक्ता गौतमले प्रस्ट पारे ।
चीनले अनुदानमा दिएको कोरोनाभाइरसविरुद्धको खोपको ८ लाख डोज चैत १६ गते सोमबार काठमाडौं आइपुगेको थियो ।
चीनले माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि फागुन १७ मा थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराएको हो । यसअघि नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो ।
नेपालले माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो डोज लगाएका व्यक्तिलाई वैशाख ७ गतेदेखि दोस्रो डोजको खोप उपलब्ध गराउने मन्त्रालयको तयारी छ ।कान्तिपुर






