शान्ति सुब्बा
गौरादह, २८ फागुन २०७७ । झापाको गौरादहमा कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो चरणमा नगरपालिका भित्रका १० हजार ज्येष्ठ नागरिकहरुलाई खोप लगाइने लक्ष्य राखिएको छ । चैत १ देखि ५ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा ६५ वर्ष उमेर समूहदेखि माथिका १० हजार ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन लागिएको गौरादह नगर स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारि दिनुभयो ।
खोप लगाउनका लागि गौरादह नगरपालिका भित्र २५ वटा खोप केन्द्र र १० जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिने सह–संयोजक श्रेष्ठले बताउनुभयो ।
यसअघि पहिलो पटक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंय सेविका र एम्बुलेन्स चालक गरि १ सय २० जनालाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । यस्तै, दोस्रो पटक प्रहरी, पत्रकार, सुरक्षाकर्मीहरु गरि १ सय ८६ गरि कुल ३ सय ६ जनाले कोराना भाइरस विरुद्धको खोप लगाइसकेको जनाइएको छ ।
खोप लगाउन आउने व्यक्तिले अनिवार्य उमेर खुल्ने परिचयपत्रहरू नागरिकताको प्रमाण/मतदाता परिचयपत्र/जेष्ठ नागरिक परिचयपत्र वा केही नभए वडा कार्यालयवाट ६५ वर्ष माथिको उमेर हो भनि दिएको सिफारीस पत्र ल्याउनुपर्ने जनाइएको छ । खोप लगाउने समय भने बिहान १० बजेदेखि ३ बजेसम्म निर्धारण गरिएको छ ।







