Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

हेम अधिकारी

कोरोनासँग युद्धको समय भो त्यो शंखघोषै भयो।
ठ्याप्पै बस्न गयो गरे घडी समरमा घण्टाघरैको अहो !!
हिँड्छन् घाम र जून नित्य गतिमा चल्दैछ हावा तर ।
चल्दै छैन घडी सुतेछ नि अहो! टक्कै छ घण्टाघर।।१।।

युगौंसम्म दिदै थियो समय ऊ कर्तब्य सम्झीकन ।
माझैमा पुरको हुँदा समय चैँ हेर्थे सधैँ सज्जन ।।
टाढासम्म दिदै थियो समय त्यो मान्दै नमानी डर ।
चल्दै छैन घडी सुतेछ नि अहो ! टक्कै छ घण्टाघर।।२।।

संसारै लुकिगो अदृश्य मसिनो बैरी अजङ्गै भयो।
कोरोनासँग लुक्न मानिस सबै आफ्ना घरैमा पस्यो ।।
अड्क्यो मानिसको सबै समयनै जेलै बने है घर ।
चल्दै छैन घडी सुतेछ नि अहो ! टक्कै छ घण्टाघर।।३।।

हाम्रो बन्द छ लौ जसै समय यो बासै बसेझैँ भयो ।
कोरोनासँगको महाँसमरमा मान्छे जुधेको अहो!
यो सन्देश दिदैछ त्यो ,अब कतै जादै नजाऊँ पर ।
चल्दै छैन घडी सुतेछ नि अहो! टक्कै छ घण्टाघर।।४।।

जम्मै मानिस धैर्यले अघि बढे यो युद्ध जित्नै भनी।
जादै जानु हुदैन बाहिर कतै कस्तै परोस् ता पनि।।
कोरोनासँग लड्दछौँ सब मिली यो अश्त्र हाम्रो भर।
चल्दै छैन घडी सुतेछ नि अहो! टक्कै छ घण्टाघर।।५।।
दमक

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments