Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

काठमाडौं, १० मंसिर २०८३ । अमेरिकी कम्पनी स्पेसएक्सलाई फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी)ले अन्तरिक्षमा १० लाखसम्म उपग्रह तैनाथ गर्न अनुमति दिएको छ । ‘स्टारमाइन्ड’ नाम दिइएको यस परियोजनाअन्तर्गत उपग्रहमा डेटा सेन्टर स्थापना गरी एआईसम्बन्धी जटिल काम सञ्चालन गर्ने योजना छ । यसको उद्देश्य तीव्र गतिमा बढिरहेको एआईको कम्प्युटिङ आवश्यकता पूरा गर्नु हो ।

यी उपग्रह सूर्यको प्रकाशबाट ऊर्जा लिएर सञ्चालन हुनेछन् । तिनमा जडित कम्प्युटरले डेटाको विश्लेषण गरी आवश्यक जानकारी पृथ्वीमा पठाउनेछन् । यसबाट जमिनमा ठूला डेटा सेन्टर निर्माण गर्नुपर्ने आवश्यकता तथा विद्युत् र कुलिङमा लाग्ने खर्च घट्ने अपेक्षा गरिएको छ ।

एफसीसीका अध्यक्ष ब्रेन्डन कारले यसलाई अमेरिकाका निम्ति ठूलो प्राविधिक उपलब्धि भन्दै अन्तरिक्षमा कम्प्युटिङ पूर्वाधार विकासले लगानी, नयाँ सम्भावना र आर्थिक लाभ बढाउने बताएका छन् । एआई क्षेत्रमा विश्वको नेतृत्व कायम राख्न ठूला डेटा सेन्टर आवश्यक रहेको उनको भनाइ छ ।

ती उपग्रहहरूले आपसमा सञ्चार गर्न अप्टिकल नेटवर्क प्रयोग गर्न सक्नेछन् भने रेडियो फ्रिक्वेन्सी लिंकलाई वैकल्पिक माध्यमका रूपमा उपयोग गर्न पाउनेछन् । उपग्रहको निगरानी र नियन्त्रणका निम्ति आवश्यक फ्रिक्वेन्सी ब्यान्ड प्रयोग गर्ने अनुमति पनि दिइएको छ ।

स्पेसएक्सले सन् २०३३ नोभेम्बरसम्ममा उपग्रह तैनाथ गर्न सुरु गर्नुपर्नेछ । २०३५ नोभेम्बरसम्ममा स्वीकृत संख्याको १० प्रतिशत अर्थात् एक लाख र २०३८ नोभेम्बरसम्ममा ५० प्रतिशत उपग्रह तैनाथ गर्नुपर्नेछ ।

एआईको बढ्दो प्रयोगसँगै डेटा सेन्टरको माग बढिरहेको छ । यस्ता केन्द्र सञ्चालन गर्न ठूलो मात्रामा विद्युत् र कुलिङका निम्ति पानी आवश्यक पर्छ । अन्तरिक्षको सौर्य ऊर्जा उपयोग गरेर यी चुनौती कम गर्ने लक्ष्य राखिएको भए पनि उपग्रह प्रक्षेपण, मर्मतसम्भार, तापक्रम नियन्त्रण र पृथ्वीमा डेटा पठाउनेजस्ता चुनौती कायमै छन् ।

योजना सफल भएमा भविष्यमा एआई कम्प्युटिङको ठूलो हिस्सा अन्तरिक्षबाटै सञ्चालन हुन सक्छ ।

 

तपाईको प्रतिक्रिया