Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

काठमाडौं , १० मंसिर २०८३ । इजिप्टको गिजास्थित व्यस्त राजमार्गमा बुधबार इन्धन बोकेको ट्यांकर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । २१ जना घाइते छन् ।

गिजाको वराक जिल्लास्थित रिङ रोडमा ट्यांकर दुर्घटनापछि भीषण आगलागी भएको थियो । उक्त सडकले कायरो महानगरीय क्षेत्रलाई घेरेको छ ।

घाइतेलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ । मृतकको संख्या अझै बढ्न सक्ने इजिप्टका स्वास्थ्यमन्त्री खालेद अब्देल गफ्फारले बताएका छन् ।

उद्धार तथा उपचारका निम्ति घटनास्थलमा ३९ एम्बुलेन्स परिचालन गरिएको थियो । उद्धारकर्मीले सवारीसाधनभित्र फसेका मानिसलाई बाहिर निकालेका थिए ।

बाक्लो बस्ती रहेको क्षेत्रमा उद्धार कार्य चलिरहँदा ठूलो भीड जम्मा भएको थियो । आगलागीमा कार र मोटरसाइकलसहित कम्तीमा २७ सवारीसाधन जलेर नष्ट भएको छ ।

इजिप्टका सरकारी अभियोजनकर्ताले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको बताएका छन् । आगलागीमा जलेर पहिचान गर्न कठिन भएका मृतकको सनाखतका निम्ति डीएनए परीक्षण भइरहेको छ ।

राष्ट्रपति अब्देल–फताह अल–सिसीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार र घाइतेलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

 

तपाईको प्रतिक्रिया