Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

ढाका, ५ मंसिर २०८३ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकको घरमा आगजनी र राजनीतिक हिंसा बढेपछि शनिबार (नोभेम्बर २१) देशभर सयौँ अतिरिक्त अर्धसैनिक बल परिचालन गरिएको छ । बंगलादेश सरकारले देशभर सीमा सुरक्षा बल (बीजीबी)का थप ९० प्लाटुन परिचालन गरेको सरकारी समाचार एजेन्सी बीएसएसले जनाएको छ ।

शुक्रबार दक्षिणपश्चिमी जिल्ला नरैलमा हसिनाको प्रतिबन्धित पार्टी अवामी लिगसँग आबद्ध व्यक्तिका एक दर्जनभन्दा बढी घरमा आगजनी गरिएको त्यहाँको प्रहरीले जनाएको छ । उक्त घटना सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई कार्यकर्ताको हत्यापछि भएको हो ।

ती मारिएका कार्यकर्ताका आक्रोशित समर्थकले कैयौँ घरमा तोडफोड र आगजनी गरेका स्थानीय प्रहरी अधिकारी शेख तसनिम अलीले बताएका छन् ।

नाम नखुलाउने सर्तमा एक स्थानीय बासिन्दाले जिल्लामा करिब ५० घरमा क्षति पुगेको बताए । उनले हिंसाका कारण सर्वसाधारण त्रसित रहेका र महिला तथा बालबालिकालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको जानकारी दिए ।

सडकमा काठका मुढा राखेर बाटो अवरुद्ध गरिएकाले दमकल टोली एक घटनास्थलसम्म पुग्न नसकेको अधिकारीहरूले बताएका छन् ।

नोभेम्बरमा भड्किएको हिंसाका क्रममा प्रहरी चौकीमा आगजनी, बैंकमा आक्रमण तथा प्रतिद्वन्द्वी राजनीतिक कार्यकर्ताका घरमा तोडफोड र आगजनी भएका छन् । सन् २०२४ को विद्रोहका क्रममा भएको दमनमा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै अनुपस्थितिमै मृत्युदण्ड सुनाइएकी ७९ वर्षीया हसिनाले डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गरेपछि तनाव बढेको हो ।

नोभेम्बर १४ यता राजनीतिक हिंसामा कम्तीमा चारजनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा तीनजना राजनीतिक दलका कार्यकर्ता र एक बस मजदुर हुन् । बसमा आगजनी गरिँदा उनको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रिय प्रहरी प्रमुख मोहम्मद अली हुसेन फकिरले हसिनाको गृहनगर तथा अवामी लिगको परम्परागत गढ गोपालगन्जमा सुरक्षा व्यवस्था पुनर्स्थापित गरिएको बताएका छन् । उनले स्थानीयलाई तोडफोड र अराजकताविरुद्ध उभिन आग्रह गरेका छन् ।

जीवन निर्वाहयोग्य ज्यालाको माग गर्दै गार्मेन्ट क्षेत्रका मजदुरले प्रदर्शन गरिरहेका औद्योगिक क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाईको प्रतिक्रिया