Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

झापा, ३० कार्तिक २०८३ । भारतबाट नेपालमा लागूऔषध तस्करी गर्दै आएका दुईजना ठूला तस्कर ५१३ ग्राम ब्राउन सुगरसहित किशनगंजमा पक्राउ परेका छन् ।

जुन लागूऔषधको अन्तर्राष्ट्रिय बजार मूल्य लगभग १ करोड भारतीय रुपैयाँ अनुमान गरिएको छ। हिजो पहाडकट्टा प्रहरी चौकीअन्तर्गत पनासी हाटनजिकै दुई अन्तरराज्यीय अवैध लागूऔषध तस्करहरूले मोटरसाइकलबाट ब्राउन सुगर किनबेच गरिरहेको गोप्य सूचना प्राप्त भएको थियो । विशेष टोलीले पहाडकट्टा प्रहरी चौकी अन्तर्गत पनासी हाटनजिकै भारतीय प्रहरीले छापा मारेको थियो। छापा मार्ने क्रममा कालो अपाचे मोटरसाइकलमा सवार दुई जना मानिसहरूले प्रहरी गाडी देखेपछि भाग्न खोजेका थिए । विशेष टोलीले उनीहरूलाई घेराउ गरेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उत्तर दिनाजपुर मौलाना थानाअन्तर्गतका २५ वर्षीय रहिम र सोही ठाउँका २७ वर्षीय जाकिर हुसेन रहेका छन् । आफूहरूले अवैध लागूऔषधको खरिद बिक्री गर्ने गरेको उनीहरुले खुलासा गरेका छन्। उनीहरूको गिरोहमा संलग्न अन्य तस्करहरू र बरामद गरिएका अवैध लागूऔषधको सम्बन्धको अनुसन्धान भइरहेको छ। अभियुक्तहरूबाट बरामद गरिएका मोबाइल फोनहरूको प्राविधिक अनुसन्धान भइरहेको छ। यस घटनामा संलग्न अपराधीहरूको अवैध सम्पत्ति पहिचान गरी कानून अनुसार जफत गरिने किशनगंज प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया