मुगु, ३० कार्तिक २०८३ । रारा गएको जीप दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका-१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज काठमाडौंस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जीप दुर्घटनामा अञ्जुको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका जीप चालक ललितपुर-१५ का ५८ वर्षीय कञ्चन थापासहित अञ्जुलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत हुँदै काठमाडौंको बिएण्डबी अस्पतालमा पुर्याइएको थियो ।
घाइते कञ्चनको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमै मृत्यु भएका तीन जना काठमाडौं कलकी बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको शव मुगुबाट सेनाको हेलिकोप्टरबाट सुर्खेत पुर्याइ सुर्खेतबाट शववाहन गाडीमार्फत काठमाडौं लगिएको छ ।
काठमाडौंबाट रारा तालतर्फ आउँदै गरेको वाग्मती प्रदेशको बा१७च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार बेलुका मुगुको छायाँनाथ रारा नगरपालिका(७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट ६०० मिटर तल खसेर दुर्घटना भएको थियो । रासस






