जनकपुरधाम, २९ कार्तिक २०८३ । अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने सामाजिक आस्थाको महापर्व छठको उल्लास छाएको छ। धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट सूर्योपासनाको पर्व छठ अहिले उल्लासमय बनेको छ।
धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्व छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ अन्तर्गत आज ‘सझुका अर्घ्य’ दिइने भएको हो। पछिल्लो समयमा छठ तराई-मधेश मात्र नभई देशकै महत्त्वपूर्ण पर्वको रूपमा परिचित हुँदै राजधानी काठमाडौँमा समेत भव्यतापूर्वक मनाइँदै आएको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई ‘नहाय-खाय’ भन्ने गरिन्छ। खासगरी महिलाहरूले मनाउने यस छठ पर्व प्रारम्भ भएदेखि नै चोखोनिष्ठाका साथ सम्पूर्ण विधिहरू पूरा गर्नुपर्ने मान्यता रही आएको छ।
छठ पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरिन्छ। सामाजिक सद्भाव एवं उल्लासको पर्व छठको दोस्रो दिन व्रतालुहरूले राति सख्खरमा बनाइएको खीर खाने विधिलाई ‘खरना’ भन्ने गरिन्छ।
भगवान् सूर्यदेवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प तथा भाकल गरे अनुसार केरा, उखु, भन्टा, दूध, माटोको हात्ती र ढकनी आदि चढाउने परम्परा छ। छठ पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन झिसमिसे बिहानै नुहाई-धुवाइ गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरम्म डुब्ने गरी जलाशयको पानीमा उभिएर अर्घ्य दिन्छन्। तराई-मधेशमा यस विधिलाई साँझको अर्घ्य अर्थात् ‘सझुका अर्घ्य’ भनिन्छ।
पोखरी, इनार, तलाउ, नदी आदि ठाउँहरूमा टेन्ट र फूलमालाले सजाइएको घाटमै रातभर जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ। बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘भोरका अर्घ्य’ भनिन्छ। यसरी उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ।
तराई-मधेशका जिल्लाहरूमा छठ पर्व कार्तिक तथा चैत महिनामा मनाउने परम्परा छ। यी दुवै छठ पर्वको हिन्दू धर्ममा विशेष महत्त्व रहे तापनि चैते छठभन्दा कार्तिक महिनामा मनाइने छठमा सहभागी हुनेहरूको सङ्ख्या अत्यधिक मात्रामा हुने गरेको छ।






