काठमाडौं, १५ कार्तिक २०८३ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्सलाई नौ रनले पराजित गरेको छ ।
योसँगै चार अंक जोडेको जनकपुरले जारी सिजनमा लगातार दोस्रो जित निकालेको छ । यसअघि जनकपुरले काठमाण्डू गोर्खाजलाई आठ विकेटले हराएको थियो ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३८ रन मात्र जोड्न
जनकपुरको जितमा इंग्लिस अलराउन्डर मोइन अलीले तीन महत्त्वपूर्ण विकेट लिए ।
उनले पहिलो विकेटको लागि अलराउन्डर मेहदीलाई अभिषेक तिवारीबाट क्याच गराएका थिए । त्यसैगरी, दोस्रो विकेटका रूपमा उनले दीनेश खरेललाई ‘स्टम्पिङ’को धरापमा पारेका थिए । विकेटकिपर अनिलकुमार साहले दीनेशलाई ‘स्टम्पिङ’ गरेका थिए ।
उनीहरू पभेलियन फर्किएपछि पोखराको शीर्षक्रमले लय लिन सकेको थिएन । पावर प्लेमा मोइनको बलिङ हाबी भएपछि पोखराले दुवै ओपनर गुमायो । मोइनले १३।२ ओभरमा पोखराका मोहम्मद सैफुदिनलाई बोल्ड गरेका थिए ।
मोइनले चार ओभरमा बलिङ गर्दा १३ रन खर्चिए ।
यसपछि, पोखराका कप्तान कुशल भुर्तेलले इनिङलाई उकास्न प्रयास गरे । टोलीका लागि सर्वाधिक ३५ रन बनाएका उनलाई ललित राजवंशीले मयन यादवबाट क्याच गराएका थिए ।
बंगलादेशका स्टार साकिब अल हसन कुशलपछि मैदानमा प्रवेश गरे । उनले १७ बलमा नौ रन बनाए पनि टिमलाई लयमा फर्काउने प्रयास गरेका थिए । ११।६ ओभरमा उनले शक्तिशाली बाउण्ड्रीको प्रयास गरे । तर, उक्त प्रयास भने सफल हुन सकेन ।
साकिबले सैफ हसनलाई लामो छक्का प्रहार गर्ने क्रममा बाउण्ड्री लाइनमा मयनले रनिङ क्याच समाएका थिए । यो विकेटपछि खेल जनकपुरतिर ढल्किएको थियो ।
हसनले यही ओभरमा दुई विकेट लिएका थिए । यसको चार बल अघि उनले पोखराका अर्जुनघर्तीलाई कप्तान हर्मितबाट क्याच गराएका थिए । सैफको चार बलको अन्तरालमा लिएको यी दुई विकेटबाट पोखराको मध्यक्रम ध्वस्त भएको थियो ।
सैफले चार ओभर बलिङ गर्दा ३६ रन खर्चिए ।
कप्तान हमिर्तले पनि दुई विकेट लिए । ललित राजवंशी र जिम्मी निशमले पनि समान एक विकेट लिए ।
पोखराका लागि १७ रन बनाएका विपिन खत्रीले भने अन्तिमसम्म प्रयास गरेका थिए । तर, जनकपुरका राहुल यादव र जिम्मीले शान्दार बलिङ गरेपछि पोखरा रोकियो ।
पोखराका लागि विपिन आचार्यले २० रन र किरण थगुन्नाले १५ रन बनाएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको जनकपुरले पोखराविरुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको थियो ।
जनकपुरको लागि तृतराज दासले ६१ रनको महत्त्वपूर्ण अर्धशतकीय इनिङ खेले । तृतराजले ५५ बलमा सात चौका र दुई छक्कासहित ६१ रन प्रहार जोडे । जुन जनकपुरको उक्त लक्ष्यको महत्त्वपूर्ण आधार बन्नपुग्यो । एनपीएलमा तृतराजको यो पहिलो अर्धशतक हो । यसअघिका दुवै सिजन पोखराबाट खेले पनि उनले अर्धशतक प्रहार गर्नसकेका थिएनन् ।
जारी सिजनमा पनि उनी अर्धशतकसँगै दुई खेलको निराशाजनक प्रदर्शन चिर्न सफल भए । यसअघि भएका दुवै खेलमा ओपनिङ गरे पनि उनले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । जनकपुरले ‘ए’ क्यटागोरीका उनलाई गत असार २४ गते भएको अक्सनबाट १५ लाख रुपैयाँमा अनुबन्धन गरेको थियो ।
त्यसैगरी, एनपीएलमा यो उनले एकै इनिङमा प्रहार गरेको सर्वाधिक रन हो । उनले यसअघि दोस्रो सिजनमा जनकपुरविरुद्ध २९ रन बनाएका थिए । जुन एनपीएलमा उनको व्यक्तिगत सर्वाधिक रन थियो । खेलमा ६१ रन बनाएर पभेलियन र्फकँदा व्यक्तिगत कीर्तिमान पनि सुधार गरे ।
उनले अर्धशतक प्रहार गर्नेक्रममा ओपनर मोइनसँग ४७ रनको साझेदारी गरेका थिए ।
अविजित रहेका अभिषेकले २४ रन बनाए भने मोइनले २१ रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पोखराका लागि साकिबले तीन विकेट लिए । उनले तीन ओभर बलिङ गर्दा चार रन खर्चिए । त्यसैगरी, चमिका करुणरत्नेले दुई विकेट लिए भने मेहदी र मोहम्मदले समान एक विकेट लिए ।
जितसँगै जनकपुर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जनकपुर समान चार अंक बनाएको कर्णालीसँग रनरेटका आधारमा पछाडि परेको हो ।
पोखराले भने लागतार दोस्रो हार व्यहोरेको छ । पोखराले यसअघि दुवै संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार व्यहोरेको थियो ।






