Online Bichar
शुक्रबार, कार्तिक १४, २०८३ | Friday, October 30, 2026

१३ कार्तिक २०८३ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण हाल नेपालका अधिकांश भू-भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। पूर्वदेखि लुम्बिनी प्रदेशसम्मका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार बिहीबार रातिदेखि नै कोशीदेखि बागमती प्रदेशसम्मका अधिकांश स्थानमा एकनासको हल्का वर्षा जारी छ। त्यस्तै, मध्यरातपछि लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भागहरूमा पनि वर्षा सुरु भएको छ।

आज दिनभरजसो मौसम यस्तै रहने र वर्षा निरन्तर हुने सम्भावना छ। मौसमविद् पोखरेलका अनुसार अपराह्न वा साँझदेखि नेपालको पूर्वी आधा भू-भागमा भारी वर्षाको जोखिम रहेको छ। विशेषगरी रातिको समयमा ठूलो पानी पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो छ घण्टाको अवधिमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा २० मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। काठमाडौँ उपत्यका लगायत अन्य विभिन्न स्थानहरूमा पनि रातिदेखि नै लगातार झरी परिरहेको छ।

तपाईको प्रतिक्रिया