मुगु, १३ कार्तिक २०८३ । बाजुराबाट भलिबल खेल्न आएका एक युवा मुगुको खत्याड गाउँपालिका–८ स्थित बाघमारे भिरमा मृत अवस्थामा फेला परेका छन्।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५ का रैभान्य विकका २६ वर्षीय छोरा रनसुर विक शुक्रबार दिउँसो नुवाखेत नजिकैको बाघमारे भिरबाट करिब एक सय मिटर तल मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबि राज थपलियाले दिनुभएको जानकारीअनुसार शुक्रबार दिउँसो करिब १:४० बजे विक मृत अवस्थामा फेला परेको खबर प्रहरीलाई प्राप्त भएको थियो। मृतकका जेठान पर्ने मनबहादुर लुहारले घटनाबारे इलाका प्रहरी कार्यालय रातापानीमा खबर गरेका थिए। खबर प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्धबहादुर बुढाको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
आफन्तका अनुसार, विक कात्तिक ८ गते भलिबल खेल्न भन्दै बाजुरास्थित घरबाट मुगुको खत्याड गाउँपालिकाको रातापानी आएका थिए। उनी कात्तिक ९ गते रातापानीबाट आफ्नो घर फर्किएको बताइएको छ।
घर फर्किएका भनिएका विक चार दिनपछि बाघमारे भिरमुनि मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्यु भिरबाट लडेर भएको हो वा अन्य कुनै कारणले, हालसम्म खुल्न सकेको छैन। घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब सात किलोमिटर पश्चिममा पर्छ।
प्रहरी टोली घटनास्थलतर्फ खटिएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ।अन्नपूर्णपोष्टबाट






