काठमाडौं, २७ असोज २०८३ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको बताएका छन् । मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै अडियो प्रकरणबारे पार्टीको अनुशासन आयोगले काम थालिसकेको बताए ।
उनले राज्यका निकाय र पार्टीको आन्तरिक छानबिन फरक प्रक्रिया भएको बताए । राज्यले गर्ने अनुसन्धान राज्यकै तर्फबाट हुने स्पष्ट पारे ।
“राज्यले गर्ने छानबिन राज्यले गर्छ, पार्टी अनुशासन आयोगले काम थालिसक्यो । आयोगलाई यति दिन चाहिँ भनेका छैनौँ । आयोगको निर्णय आएपछि मात्रै भन्न सकिन्छ” बुर्लाकोटीले सञ्चारकर्मीसँग भने ।
सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनका विषयमा उठाइएका प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले मंगलबार पार्टी केन्द्रीय अनुशासन आयोगलाई छानबिन गर्न निर्देशन दिएको छ ।






