Online Bichar
बुधबार, आश्विन २८, २०८३ | Wednesday, October 14, 2026

काठमाडौं, २७ असोज २०८३ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा मंगलबार घरेलु टोली ओमानविरुद्ध ११३ रनको फराकिलो जित दर्ता गरेको छ ।

जारी शृंखलामा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको थियो ।

जारी शृंखलामा ओमानको यो पहिलो हार हो । यसअघि ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो ।

अल अमिरेत रंगशालामा नेपालले प्रस्तुत गरेको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो ।

ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रनको योगदान गरे । उनले ८३ बलमा ६ चौका र एक छक्का प्रहार गरे । यसैगरी, जय आडेदराले २५ र जतिन्दर सिंहले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाली बलरले पहिलो ओभरदेखि नै ओमानी ब्याटरलाई दबाबमा राखेका थिए । सातौँ विकेटका लागि शुक्ला र ओडेदराले ८३ रनको साझेदारी गर्दै ओमानको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । यो साझेदारीलाई दीपेन्द्रसिंह ऐरीले ओडेदरालाई एलबिडब्ल्यूको धरापमा पारेर तोडे ।

नेपालका नन्दन यादव र कप्तान सन्दीप लामिछानले तीन–तीन, दीपेन्द्रसिंह ऐरी दुई तथा करण केसी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल तयार पारेको थियो ।

नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे । अन्त्य तिर आक्रमक ब्याटिङ गरेका करण केसीले १६ बलमा चार छक्का र एक चौकासहित ४० रन बनाए ।

आसिफ शेखलाई सस्तैमा गुमाए पनि अर्जुन कुमाल र इशान पाण्डेले नेपालको इनिङ सम्हालेका थिए । अर्जुन ४० र इशान ३७ रन बनाएर आउट भए ।

दोस्रो विकेटका लागि अर्जुन र इशानले ६४ रनको साझेदारी गरेका थिए । मध्यक्रममा रोहितसहित बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले पनि राम्रो प्रदर्शन गरे । बसिरले ३७ र दीपेन्द्रले २२ रन जोडे । सन्दीप जोराले पनि नेपालको खातामा १० रन थपे ।

पाँचौँ विकेटका लागि रोहित र बसिरबीच ८६ रनको साझेदारी भएको थियो ।

ओमानका शाह फैसल, सकिल अहमद र करण सोनावालेले दुई–दुई तथा हसनैन शाहले एक विकेट लिए ।

जितसँगै ३४ खेलमा २८ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ । पराजित ओमान ३० खेलबाट ३३ अंकका साथ चौथो स्थानमा छ ।

अब ओमानले बिहीबार र नेपालले शनिबार क्यानडाको सामना गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया