काठमाडौं, १४ असोज २०८३ । सर्वोच्च अदालतले पक्राउ परेका पत्रकार धर्मराज मल्ललाई हाजिर जमानीमा थुनामुक्त गर्न गृह मन्त्रालयसहितका सुरक्षा निकायलाई परमादेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र शान्तिसिंह थापाको संयुक्त इजलासमा भएको सुनुवाइपछि बुधबार (असोज १४) साँझ उक्त आदेश जारी गरेको हो ।
सर्वोच्चबाट गृहसहित जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंका नाममा समेत आदेश जारी भएको छ ।
मल्ललाई मंगलबार २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चबाट आदेश जारी भएको थियो ।
नेपालगञ्जका पत्रकार मल्ल आशिष मल्ल ठकुरीका नामले चिनिन्छन् । आफ्ना श्रीमानलाई बिनापुर्जी गत असोज ७ गते राति पक्राउ गरिएको दाबीसहित मल्लकी श्रीमती भावना बुढाले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।
हातहतियारसहित आएका प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–७, फिक्कल चोकस्थित मल्लकी बहिनीको घरबाट पक्राउ गरेको दाबी रिट निवेदक बुढाको थियो ।
मल्ललाई जरुरी पक्राउ पूर्जीका आधारमा पक्राउ गरिएको थियो । सर्वोच्चले अनुसन्धान सम्बन्धी फायल हेर्दा ‘‘सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरेको’’ भन्ने प्रहरी प्रतिवेदन रहेको आदेशमा खुलाएको छ ।
उनीविरुद्ध अनुसन्धान भई घटनास्थल मुचुल्का तथा निजको बयानसमेतका कार्य सम्पन्न भइसकेको अवस्था समेत सर्वोच्चले आदेशमा उल्लेख गरेको छ । साथै, अनुसन्धान तहकिकातबाट अभियोजन नै गर्नुपर्ने अवस्था देखिए जिल्ला अदालतबाट म्याद थप भएको अवधि असोज १५ भित्र अभियोजन गर्न पनि आदेशमा भनिएको छ ।
सर्वोच्चले आरोपको प्रकृतिलाई विचार गर्दा थुनामा नै राखी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको व्यहोरा आदेशमा उल्लेख गरेको छ । ‘‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रयोग गरी निवेदकलाई मिति २०८३ । ६ । १५ मा नै हाजिर जमानी वा तारेखमा छाडिदिनु भनी विपक्षीहरुका नाउँमा परमादेश जारी गरिदिएको छ,’’ आदेशमा उल्लेख छ ।






