Online Bichar
बिहिबार, आश्विन १५, २०८३ | Thursday, October 1, 2026

काठमाडौं, १४ असोज २०८३ । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराइरहेका मध्ये थप तीन जनाको शव फेला परेको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार गोरखाको धार्चे गाउँपालिका-२ केरौंजाका आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका(३ का सुरज राई र रुकुमको हुकामका कलम बुढाको शव आज बुधबार फेला परेको हो।

उनीहरू तीनै जना हिमालय होडिडे नामक ट्राभलसँग आवद्ध रहेको मनाङ प्रशासनले जनाएको छ।

यसअघि चार जनाको शव फेला परेको थियो। आज तीन जनाको शव भेटिएसँगै अहिलेसम्म ७ जनाको शव फेला परेको र अझै ९ जना बेपत्ता रहेको उनको भनाइ छ।

बेपत्ताहुनेहरूमा हिमालयन होलिडेजका ७ र इम्याजिन नेपालका २ जना छन् ।

त्यस्तै सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको थियो भने आइतबार छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो।

बेपत्ताको खोजी तथा शव निकाल्न हिमलुङ क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा उद्धार टोली हिमलुङमा छ।

तपाईको प्रतिक्रिया