धादिङ, १३ असोज २०८३ । अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा भासिएर अवरुद्ध भएको सडक भोलि बुधबार दिउँसो १ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार साँझ जारी गरेको सूचनाअनुसार हाल पहिरो तथा अन्य अवरोध हटाउने काम भइरहेको छ। राजमार्गमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा आएको छ। थप पहिरो वा अन्य अवरोध नआएमा बुधबार दिउँसोदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारी साधन पूर्णरूपमा सञ्चालनमा आउने जनाइएको छ।
तर, वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। जुनसुकै समयमा पहिरो झर्न सक्ने सम्भावना रहेकाले चालक, यात्रु तथा सडक प्रयोगकर्तालाई अत्यन्त सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ। प्रशासनले सवारी सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्नसमेत अनुरोध गरेको छ।






