Online Bichar
बिहिबार, आश्विन ०८, २०८३ | Thursday, September 24, 2026

काठमाडौं, ७ असोज २०८३ । देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय तथा विश्वविद्यालयलाई सावधानी अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको समेत जोखिम रहेकाले मन्त्रालयले शैक्षिक संस्थालाई पूर्वतयारीमा जुट्न आग्रह गरेको हो।

सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरोध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी असोज ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको छ। विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्दै स्थानीय अवस्थाअनुसार निर्णय लिन मन्त्रालयले भनेको छ।

त्यस्तै, असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने भनिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न सबै विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई मन्त्रालयले आग्रह गरेको छ। मौसमको अवस्था र स्थानीय जोखिम मूल्यांकन गरी परीक्षा सञ्चालनसम्बन्धी निर्णय लिन भनिएको छ।

विपद्को अवस्था सिर्जना भएमा सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ।

यसका लागि विद्यालय भवनको सुरक्षा र उपलब्धताबारे स्थानीय तहले आवश्यक तयारी गर्न सक्ने मन्त्रालयको भनाइ छ। मन्त्रालयले अभिभावकहरूलाई पनि बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। वर्षाका बेला नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा बालबालिकालाई जान नदिन मन्त्रालयले अपिल गरेको छ।

तपाईको प्रतिक्रिया