Online Bichar
बुधबार, आश्विन ०७, २०८३ | Wednesday, September 23, 2026

काठमाडौं, ७ असोज २०८३ । वायुसेवा सञ्चालक संघले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जनसहित हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले पूर्ण सुरक्षाको प्रत्याभूति गरेरमात्रै उडान सञ्चालन गर्न सदस्य वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ।

संघले बुधबार जारी गरेको सर्कुलरमार्फत नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा पनि मेघ गर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएको हो।

भारी वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम रहनुका साथै सहरी तथा तराई क्षेत्रमा डुबान र साना तथा ठूला नदीमा जल सतह बढ्न सक्ने विभागको पूर्वानुमान रहेको संघले जनाएको छ। यसबाट नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यस्तै हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको संघले जनाएको छ।

संघका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा जारी सर्कुलरमा असोज ९ देखि ११ गतेसम्म उडान सञ्चालन गर्दा पूर्ण सुरक्षाको प्रत्याभूति गर्न सदस्य वायुसेवा कम्पनीहरूलाई अनुरोध गरिएको छ।

वर्षाका कारण बाढी, पहिरो वा भूक्षयको जोखिम उत्पन्न भएमा तत्काल उद्धार कार्य सञ्चालन गर्न सदस्य वायुसेवा कम्पनीहरूलाई ‘स्ट्यान्डबाई’ अवस्थामा रहनसमेत संघले आग्रह गरेको छ। संघले मौसमसम्बन्धी विस्तृत जानकारीका लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइटमा नियमित जानकारी लिनसमेत वायुसेवा कम्पनीहरूलाई अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया