झापा, ७ असोज २०८३ । भारतमा तस्करी गर्न लागिएको अवैध फर्सीको बियाँ इलाममा बरामद भएको छ । गएराति अन्दाजी ११ बजे इलाम सूर्योदय नगरपालिका–४, ठुलो सिर्बुङस्थित जङ्गलमा इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले लुकाई राखेको अवस्थामा फर्सीको बियाँ भरिएका २० वटा बोरा फेला पारेको हो । बरामद गरिएको फर्सीको बियाँलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई तौल गर्दा जम्मा ५५२ के.जी. रहेको छ ।
बरामद भएको फर्सीको बियाँ आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको छ । साथै उक्त फर्सीको बियाँ जङ्गलमा लुकाई राख्ने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
भारत तस्करी गर्नका लागि चाइनिज फर्सीको बियाँ लुकाएर राखिएको थियो । नेपालबाट चाइनिज फर्सी र खरबुजाको बियाँ ठूलो मात्रामा भारततर्फ तस्करी हुने गरेको छ ।






