काठमाडौं, ४ असोज २०८३ । नेपाली बजारमा पाइने खाने तेलको गुणस्तर, शुद्धता र उपभोक्ता स्वास्थ्य ध्यानमा राख्दै सरकारले उत्पादन, प्याकेजिङ तथा बिक्री वितरणमा कडा नियम लागु गर्ने तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास (सोयाबिन) र सूर्यमुखी तेलको नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार पारेको हो ।
नयाँ मापदण्डले खाने तेललाई सिधै खान मिल्ने र नमिल्ने गरी स्पष्ट वर्गीकरण गरेको छ भने उपभोक्तालाई भ्रममा पार्ने विज्ञापन र एक पटक प्रयोग भइसकेका भाँडा (कन्टेनर) को पुन: प्रयोग पूर्णरूपमा निषेध गरेको छ ।
तोरीको तेल
विभागको प्राविधिक समितिले ‘नेपाल गुणस्तर ०३ : २०३५ (दोस्रो संशोधन : २०८३)’ मार्फत तोरीको तेलको विशिष्टीकरण सम्बन्धी मापदण्ड तयार गरेको छ ।
यसअन्तर्गत तोरीको तेललाई उत्पादन प्रक्रियाका आधारमा ‘एक्स्प्रेस’ र ‘सल्भेन्ट–एक्सट्र्याक्टेड’ गरी दुई भागमा बाँडिएको छ ।
एक्स्प्रेसबाट निकालिएका सबै ९रिफाइन्ड, भर्जिन, एक्स्पेलर० र सल्भेन्ट प्रक्रियाको ‘रिफाइन्ड’ तेललाई मात्र मानिसले सिधै खान योग्य मानिएको छ ।
तर, सल्भेन्ट प्रक्रियाको ‘ग्रेड–१’ तेल सिधै खान हुँदैन, यसलाई थप प्रशोधन गरेरमात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ । यस्तो खान नहुने तेल उपभोक्ताले किन्ने प्याकेटमा बेच्न पाइँदैन भने कन्टेनरमा कम्तीमा ५० मिलिमिटरको ठूला अक्षरमा अंग्रेजीमा ‘नट फर डाइरेक्ट इडिबल कन्जम्प्सन’ ९सोझै खानका लागि होइन० भनी अनिवार्य लेखिएको हुनुपर्ने छ ।
शुद्धताका हकमा तेलमा हानिकारक झार ‘आर्जेमोन मेक्सिकाना’ वा अन्य अखाद्य तेल मिसिएको हुनुहुँदैन । यसैगरी पेरोक्साइड भ्यालु अधिकतम १० मिलिइक्विभ्यालेन्ट तोकिएको छ भने विषाक्त धातुहरू जस्तै सिसा र आर्सेनिक ०।१ मिलिग्राम प्रतिकिलो, क्याडमियम १ मिलिग्राम र पारो ०।२५ मिलिग्राम प्रतिकिलोभन्दा बढी हुन नहुने कडा वैज्ञानिक सीमा निर्धारण गरिएको छ ।
भटमास तेल
विभागले ‘नेपाल गुणस्तर १०३ : २०४२ (पहिलो संशोधन स् २०८३)’ मार्फत भटमास तेलको नयाँ मापदण्ड तयार गरेको छ । नयाँ व्यवस्था अनुसार सल्भेन्ट एक्स्ट्र्याक्सन प्रक्रियाबाट निकालिने यस तेललाई ‘रिफाइन्ड’, ‘डिगम्ड’ र ‘ग्रेड–१’ मा विभाजन गरिएको छ, जसमध्ये रिफाइन्ड तेललाई मात्र सिधै खान योग्य मानिएको छ । डिगम्ड र ग्रेड–१ तेल वनस्पति घिउ वा रिफाइन्ड तेल बनाउने कच्चापदार्थ मात्र भएकाले यी तेललाई खुद्रा प्याकेटमा बेच्न पाइने छैन ।
साथै, यसको कन्टेनरमा पनि ५० मिलिमिटरको अक्षरमा ‘सोझै खानका लागि होइन’ भन्ने चेतावनी अनिवार्य लेख्नुपर्ने छ । लेगुमिनोसी परिवारको ‘ग्लाइसिन म्याक्स’ प्रजातिको स्वस्थ भटमासबाट मात्र निकाल्नुपर्ने यस तेलमा हानिकारक अफ्लाटक्सिन ३० माइक्रोग्राम प्रतिकिलोभन्दा बढी हुन पाइने छैन । रिफाइन्ड तेलमा हेक्जेन ५ पीपीएम र फस्फोरस अधिकतम १२ पीपीएम हुनुपर्ने सीमा तोकिएको छ ।
सूर्यमुखी तेल
सूर्यमुखी तेलको गुणस्तर व्यवस्थित गर्न विभागले पहिलो संशोधनको मस्यौदा तयार पारेको छ । यसलाई पनि एक्स्प्रेस’ र सल्भेन्ट एक्स्ट्र्याक्टेड गरी दुई प्रकारमा बाँडिएको छ, जसमा दुवै प्रकारका रिफाइन्ड तेल र एक्स्प्रेसतर्फको ग्रेड १ तेल सिधै खानयोग्य हुनेछन् ।
तर, सल्भेन्ट एक्सट्र्याक्टेडतर्फको ग्रेड १ तेल सिधै खान नमिल्ने भएकाले उपभोक्ता प्याकमा बेच्न पाइने छैन र भाँडामा मेट्न नमिल्ने मसीले ठूला अक्षरमा खान नहुने चेतावनी लेखिएको हुनुपर्ने छ ।
तेल कृत्रिम रङ तथा स्वादमुक्त हुनुपर्ने छ भने पेरोक्साइड भ्यालु अधिकतम १० र अफ्लाटक्सिन ३० माइक्रोग्राम प्रतिकिलोभन्दा कम हुनुपर्ने छ । सिसा, आर्सेनिक, क्याडमियम र मर्करीजस्ता विषाक्त धातुको कडा सीमा यसमा पनि लागु गरिएको छ ।
भ्रामक विज्ञापन र पुराना भाँडा प्रयोगमा रोक
नयाँ मापदण्डको सबैभन्दा महत्त्वपूर्ण पक्ष विज्ञापन र प्याकेजिङमा गरिएको कडाइ हो । अब उप्रान्त उत्पादकले उपभोक्तालाई झुक्याउने वा अतिरञ्जित गर्ने शब्दावली तेलको प्याकेट वा विज्ञापनमा प्रयोग गर्न पाउने छैनन् ।
विशेषगरी ‘सुपर–रिफाइन्ड’, ‘एक्स्ट्रा–रिफाइन्ड’, ‘माइक्रो–रिफाइन्ड’, ‘डबल–रिफाइन्ड’, ‘अल्ट्रा–रिफाइन्ड’, ‘एन्टी–कोलेस्टेरोल’, ‘कोलेस्टेरोल फाइटर’, ‘मुटुलाई शान्त पार्ने’, ‘कोलेस्टेरोल फ्रेन्डली’, र ‘स्याचुरेटेड फ्याट फ्री’ जस्ता शब्दावली राख्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
यसैगरी प्याकेजिङका लागि नेपाल गुणस्तर ९एनएस० प्रमाणित टिन वा प्लास्टिकका भाँडामात्र प्रयोग गर्नुपर्ने छ । जनस्वास्थ्यलाई गम्भीर रूपमा लिँदै एक पटक प्रयोग भइसकेका टिन वा प्लास्टिकका कन्टेनर खाने तेल प्याक गर्न पुनस् प्रयोग गर्न पूर्णरूपमा निषेध गरिएको छ ।
कन्टेनरको बाहिर उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन महिना वा वर्ष र खुद तौल अंग्रेजी वा नेपाली भाषामा प्रस्ट बुझिने गरी लेखिएको हुनुपर्ने छ ।
मापदण्ड पूरा गर्ने उत्पादकले मात्र नेपाल गुणस्तर प्रमाण चिह्न प्रयोग गर्न पाउनेछन् । विभागले तयार पारेको यो वैज्ञानिक र कडा मापदण्डले नेपाली बजारमा पाइने खाने तेलको शुद्धता सुनिश्चित गर्दै आम उपभोक्ताको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।






