Online Bichar
आइतबार, आश्विन ०४, २०८३ | Sunday, September 20, 2026

झापा, ४ असोज २०८३ । झापाको दमकमा घरमा कोही नभएको मौका छोपी दराज फुटाएर सुनका गहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४, रवि घर भई हाल दमक–५ मा डेरा गरी बस्ने १९ वर्षीय दिपक राई रहेका छन् ।

असोज २ गते शुक्रबार दिउँसो करिब ४ बजे दमक नगरपालिका–२ की ३१ वर्षीया मनिषा तामाङको घरमा कोही नभएको मौका छोपी प्रवेश गरी दराज फुटाएर सुनको सिक्री १ थान, तीन तोलाको सुनको चुरा २ थान, सुनको पिँजडा २ थान, सुनको तिलहरी १ थान र नगद २० हजार रुपैयाँ चोरी भएको थियो।

चोरीको सूचना पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले घटनास्थल तथा आसपासका सीसीटीभी फुटेजको सहायतामा पहिचान तथा खोजतलास गर्ने क्रममा दमक नगरपालिका–५ स्थित गुम्बा चोकबाट राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। राईको साथबाट नगद ७९ हजार रुपैयाँ, चाँदीको पाउजु १ थान, सुनको पिँजडा २ थान र सुनको श्रीबन्दी १ थान बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया