काठमाडौं, १ असोज २०८३ । सरकारले साउदी अरबका वायुसेवा कम्पनीलाई पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुला गरेको छ ।
१५ भदौमा नेपाल र साउदी अरबबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार यो हस्ताक्षरले नेपालका नवनिर्मित विमानस्थल पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी अरबका जहाजका लागि ढोका खुला गरेको छ ।
‘हामीसँग पर्याप्त जहाज छैनन्, तर उहाँहरूसँग छन्,’ आचार्यले भने, ‘यी विमानस्थलमा साउदीका जहाजले उडान गर्न चाहे यस सम्झौताले अब सहजीकरण गरेको छ ।’
नेपाल र साउदीबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर सन् १९९९ मै भएको थियो । सोही सम्झौतामा दुई मुलुकका वायुसेवा कम्पनीले सातामा ५ हजार ६ सय सिट र वर्षमा २ लाख ९१ हजार २ सय सिट बराबर उडान गर्न सक्ने गरी तोकिएको थियो ।
मन्त्रालयका अनुसार अन्तिम सम्झौताले नेपाल र साउदीबीच हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ । यात्रु तथा मालवाहक हवाई सेवा विकास र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ ।
यसबाहेक व्यापार तथा लगानीका थप अवसर अभिवृद्धि गर्ने र दुई देशबीचको आर्थिक तथा जनस्तरीय सम्बन्ध थप मजबुत बनाउने महत्त्वपूर्ण अपेक्षा समेत मन्त्रालयको छ ।
सहसचिव आचार्यका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सम्बन्धी स्थापित सिद्धान्त र अभ्यासका आधारमा दुवै देशका तोकिएका वायुसेवा प्रदायक कम्पनीलाई नियमित हवाई सेवा सञ्चालनका लागि आवश्यक कानुनी तथा संस्थागत आधार प्राप्त हुनेछ ।
‘नेपाल र साउदी सरकार-सरकारबीच मात्र होइन, जनस्तरमा समेत सम्बन्ध स्थापित भएको छ,’ उनले भने, ‘हजारौं नेपाली कामदार साउदीमा कार्यरत हुनुहुन्छ, त्यसकारण समेत यो सम्झौता महत्त्वपूर्ण छ ।’
नेपालमा नवनिर्मित विमानस्थल सञ्चालनका लागि तयार भएर बसेका छन् । तर, यी विमानस्थलमा नेपालले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आह्वान गर्न सकेको छैन ।
अर्कातर्फ, नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग पर्याप्त जहाज छैन । यो अवस्थामा नेपालले थप देशबाट उडान र थप पर्यटक भित्र्याउन चाहिरहेको उनको भनाइ छ ।
यद्यपि, नेपालमा अहिले साउदीट कुनै पनि वायुसेवा कम्पनीले सिधा उडान गरेका छैनन् । नेपालबाट भने हिमालय एयरलाइन्सले काठमाडौं-दम्माम र काठमाडौं-रियाधमा सिधा उडान गरिरहेको छ । नेपाल एयरलाइन्सले भने काठमाडौं-दम्माममा मात्र उडान गरिरहेको छ ।
४२ मुलुकसँग नेपालको द्विपक्षीय हवाई सेवा सम्झौता
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार नेपालले अहिलेसम्म कुल ४२ देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ । यस्तो सम्झौता विस्तार गर्ने नीतिसमेत नेपाल सरकारको छ ।
पछिल्लो समय नेपाल र स्विट्जरल्यान्डबीच सन् २०२४ मा यस्तो सम्झौता भएको थियो । रुवान्डासँग २०२३ मा हवाई सेवा सम्झौता भएको थियो ।अनलाइनखबरबाट






