Online Bichar
बिहिबार, आश्विन ०१, २०८३ | Thursday, September 17, 2026

काठमाडौं, १ असोज २०८३ । नेपाल–चीन सीमा क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीको पृष्ठभूमिमा मानव गतिविधिबाट बढेको जलवायु परिवर्तनले महत्त्वपूर्ण भूमिका खेलेको वैज्ञानिकको एक टोलीले गरेको नयाँ अध्ययनमा निष्कर्ष निकालिएको छ । २० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञले गरेको वैज्ञानिक विश्लेषणमा विभिन्न जटिल कारक एकसाथ सक्रिय हुँदा यो विपत्ति निम्तिएको ठम्याइएको छ ।

चीनको केरुङनजिक खसेको विनाशकारी हिमचट्टान पहिरोका कारण एक हजार ४०० भन्दा धेरै मानिसको मृत्यु भएको छ । पाँच हजारभन्दा धेरै मानिस अझै बेपत्ता छन् । यसले भोटेकोसी र त्रिशूली नदी आसपासका रसुवा र नुवाकोटका विभिन्न गाउँ, सडक तथा पुलहरू बगाएको थियो ।

घटना कसरी भयो ?
भदौ १० गते लाङटाङ–लिरुङ हिमालबाट करिब दुई हजार फिट फराकिलो पहाडी चट्टान र हिमनदीको विशाल टुक्रा छुट्टिएर झन्डै सात हजार फिट तल नदीमा खसेको थियो । यसबाट ५.२ म्याग्निच्युडको भूकम्पबराबर ऊर्जा उत्पन्न भएको थियो ।

उक्त पहिरो यति तीव्र गतिमा खसेको थियो कि त्यसले हिउँ तत्कालै पगालिदिएको थियो । त्यसबाट आएको बहावले ओसिलो लेदो बगाउनुका साथै उपत्यकाको पिँधमा जमेको हिउँसँग ठोक्किएर झनै उग्र बाढीको रूप लिएको थियो । उक्त बाढी ३२ किलोमिटरभन्दा बढी तलसम्म विनाशकारी गतिमा बगेको थियो ।

नेदरल्यान्ड्सको उट्रेच विश्वविद्यालयका हिमाली जलविज्ञ वाल्टर इमर्जिलले यसलाई हिमालय क्षेत्रमा भएको अभूतपूर्व विपत्ति भनेका छन् ।

तीव्र मौसमी घटनामा जलवायु परिवर्तनको भूमिका अध्ययन गर्ने सञ्जाल वर्ल्ड वेदर एट्रिब्युसन (डब्ल्यूडब्ल्यूए) का हिमनदीविज्ञ तथा जलवायु वैज्ञानिकको टोलीले यसबारे बुधबार विस्तृत विश्लेषण सार्वजनिक गरेको छ ।

यो विपत्ति कुनै एउटा मात्र चरम मौसमी घटनाका कारण नभई जीवाश्म इन्धनको प्रयोगबाट हुने प्रदूषणका कारण दशकौँदेखि बढिरहेको तापक्रमसँग सम्बन्धित विभिन्न प्रक्रिया एकसाथ सक्रिय हुँदा भएको प्रतिवेदनमा उल्लेख छ । यो मूल्यांकन वैज्ञानिक विधिमा आधारित भए पनि प्रतिवेदन अझै ‘पियर रिभ्यु’को प्रक्रियामा छ ।

सन् २०१५ अप्रिलमा गएको ७।८ म्याग्निच्युडको भूकम्पले हिमालको दक्षिणी भागमा चट्टान र हिउँको पहिरो निम्त्याएको थियो । उक्त भूकम्पले भिरालो सतहलाई कमजोर बनाएर भविष्यमा पहिरो जानका निम्ति अनुकूल अवस्था सिर्जना गरेको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

‘पर्माफ्रस्ट’ पग्लिनु
वैज्ञानिकले जलवायु परिवर्तनका कारण हिमालयमा ‘शून्य डिग्री’ अर्थात् वायुमण्डलको तापक्रम शून्य डिग्री सेल्सियस पुग्ने उचाइ हरेक दशकमा ३२० फिटभन्दा बढी माथि सर्दै गएको बताएका छन् । यसले विशेष गरी पहिरो गएको उचाइमा उच्च पहाडी क्षेत्रका चट्टान, हिउँ, बालुवा र माटोलाई गमझैँ टाँसेर राख्ने ‘पर्माफ्रस्ट’लाई कमजोर बनाएको उनीहरूको भनाइ छ ।

पर्माफ्रस्ट पग्लिएपछि चट्टानको शक्ति घट्ने र भिरालोभित्र धेरै पानी छिर्ने अवस्था सिर्जना हुने उट्रेच विश्वविद्यालयका हिमाली जलविज्ञ वाल्टर इमर्जिलले बताएका छन् ।

लाङटाङ–लिरुङ हिमनदी विशेष गरी सन् २०१० पछि निकै पातलिएको र खुम्चिएको वैज्ञानिकले बताएका छन् । यसले हिमालको भिरालो सतहलाई कम स्थिर बनाउनुका साथै पग्लिएको पानीलाई चट्टानका दरारहरूमा प्रवेश गर्ने अवस्था सिर्जना गरेको थियो ।

पहिरोअघिको मौसम
गत वर्षको अक्टोबर र नोभेम्बरको सुरुआतमा उक्त क्षेत्रमा असामान्य हिमपात भएको थियो । त्यसपछिको जुलाई र अगस्ट अहिलेसम्मकै सबैभन्दा तातो रहेका कारण ठूलो मात्रामा पग्लिएको पानी उत्पन्न भई भिरालो सतहलाई थप कमजोर बनाएको वैज्ञानिकको भनाइ छ ।

ऐतिहासिक तथ्यांक तथा जलवायु मोडलहरूको प्रयोग गर्दै अनुसन्धानकर्ताले जलवायु परिवर्तनका कारण उक्त क्षेत्रको जुलाई र अगस्ट महिनाको तापक्रम अहिलेको तुलनामा करिब १.५ डिग्री सेल्सियस बढी तातो रहेको पाएका छन् । साथै, त्यस क्षेत्रको वार्षिक तापक्रम विश्वव्यापी औसतभन्दा बढी अर्थात् करिब २ डिग्री सेल्सियसले बढेको पाइएको छ ।

तर, विश्वव्यापी तापक्रम वृद्धि र बढेको हिमपात वा वर्षाबीचको सम्बन्ध पूर्ण रूपमा स्पष्ट गर्न नसकिएको प्रतिवेदनमा उल्लेख छ । दुर्गम तथा भौगोलिक रूपमा जटिल हिमालय क्षेत्रमा यस्ता घटनाको मापन तथा निगरानी गर्नु चुनौतीपूर्ण रहेको वैज्ञानिकले बताएका छन् ।

यद्यपि, लन्डनस्थित इम्पेरियल कलेजकी जलवायु विज्ञानकी प्राध्यापक फ्रिडेरिक ओटो भन्छिन्, “मानव–निर्मित जलवायु परिवर्तनले नै यो विपत्तिको पृष्ठभूमि तयार पार्न भूमिका खेलेको कुरामा कुनै शंका छैन ।”

वैज्ञानिकका अनुसार, उक्त हिमपहिरो आकार, गति र जटिलताका हिसाबले त्यस क्षेत्रले यसअघि कहिल्यै नभोगेको प्रकृतिको थियो । कुनै पनि विद्यमान पूर्वसूचना प्रणालीले यसनिम्ति पर्याप्त समय दिन नसक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्राध्यापक ओटो भन्छिन्, “हामीले अनुकूलन गर्न सक्ने सीमाभन्दा यो पूर्ण रूपमा बाहिरको घटना हो । यदि, विश्वले जीवाश्म इन्धनबाट हुने प्रदूषणलाई तीव्र गतिमा घटाएन भने हामीले आउँदा वर्षहरूमा यो स्तरका अझ धेरै विपत्तिहरू भोग्नुपर्ने निश्चित छ ।”

तपाईको प्रतिक्रिया