काठमाडौं, १ असोज २०८३ । सिंगापुरमा दैनिक कम्तीमा १५ मिनेट पुस्तक पढ्नेलाई सरकारले पैसा दिने भएको छ । सरकारले अनावश्यक रूपमा नकारात्मक वा अनलाइन सामग्री हेरिरहने बानी कम गर्न आफ्ना नागरिकलाई दैनिक कम्तीमा १५ मिनेट पुस्तक पढ्न प्रोत्साहित गर्दै यस्तो योजना सुरु गरेको हो ।
यो महिनाबाट सुरु गरिएको ‘ग्यामिफिकेसन’ रणनीतिमा आधारित यस योजनामार्फत नागरिकको एकाग्रता, तार्किक सोच र कल्पनाशीलतामा सुधार ल्याउने अपेक्षा गरिएको द गार्जियनले जनाएको छ ।
योजनाअनुसार पाठकहरूले पोइन्ट संकलन गर्नेछन्, जसलाई रकममा साट्न सकिनेछ । एक सिंगापुर डलर कमाउन नागरिकले सरकारी वेबसाइटमा ५० दिनको अध्ययन सत्र दर्ता गर्नुपर्नेछ । १५ मिनेट वा सोभन्दा बढी समयको अध्ययन सत्र पूरा गरेबापत २० भर्चुअल सिक्का पाइनेछ भने एक डलर प्राप्त गर्न एक हजार सिक्का आवश्यक पर्नेछ । दैनिक रूपमा भने एउटा मात्र अध्ययन सत्र दर्ता गर्न पाइनेछ ।
नेसनल लाइब्रेरी बोर्डकी प्रमुख मेलिसा तामले साना र प्राप्त गर्न सकिने कदमबाटै दिगो पठन संस्कृतिको विकास हुने बताइन् । उनले भनिन्, “हामीलाई के थाहा छ भने बानी साना र निरन्तर प्रयासबाट निर्माण हुन्छन् । त्यसैले हामीले दिनको १५ मिनेट मात्र पढ्ने एउटा सरल लक्ष्यबाट सुरुआत गरिरहेका छौँ । बस यात्राका क्रममा, सुत्नुअघि वा दिउँसोको खानाका क्रममा पनि पढ्न सकिन्छ ।”
आफ्ना नागरिकको व्यवहार परिवर्तन गर्न वित्तीय प्रोत्साहन वा उपहारको प्रयोग गर्नु सिंगापुर सरकारका लागि नौलो भने होइन । यसअघि स्वास्थ्यसम्बन्धी पहलअन्तर्गत हिँड्ने बानीलाई प्रोत्साहित गर्न सुपरमार्केट भौचर तथा दैनिक पाइला ९स्टेप०को लक्ष्य पूरा गरेबापत पुरस्कार दिने गरिएको थियो ।






