Online Bichar
बुधबार, भाद्र ३१, २०८३ | Wednesday, September 16, 2026

काठमाडौं, ३१ भदौ २०८३ । पुलबाट एक महिलाले कुकुर नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जबर्जस्ती नदीमा फालिदिएको भिडियो सामाजिक सञ्जालमा व्याप्त छ । ती महिलाको अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को आलोचना गरेका छन् ।

रातो कुर्ता सुरवाल लगाएकी महिलाले पुलबाट कुकुरलाई नदीमा फालिदिएको भिडियोमा देखिन्छ ।

भिडियो भने अर्कै व्यक्तिले खिचेको पाइएको छ । कुकुर फाल्ने महिलाले भाग्न खोजेको कुकुरलाई दुबै हातले जबर्जस्त समातेर नदीमा फालेकी छन् । फालेसकेपछिको कुकुर नदीमा बग्दै गरेकोसमेत देखिन्छ । कुकुर फालेको भिडियो भाइरल भएपछि भने प्रहरीले कुकुर फाल्ने महिलाबारे अनुसन्धान थालेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका धनगढीका एसएसपी पदम विष्टले कुकुर फाल्ने महिलाबारे अनुसन्धान भइरहेको बताए ।

उनले भने,‘‘घटना हाम्रो नोटिसमा आएको छ । सेती नदीबाट फालिएको हो भन्ने सूचना आएको छ । हामीले अनुसन्धान थालिसकेका छौँ ।” उनले बझाङको सेती नदीकै भिडियो भने पुष्टि भएको बताए ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले भाग्न खोजेको कुकुरलाई जबर्जस्ती नदीमा फालिदिने महिलालाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् ।

प्रहरीले अनुसन्धान सुरु भइसकेको बताउँदै कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

तपाईको प्रतिक्रिया