Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

काठमाडौं, २६ भदौ २०८३ । भिजिट र व्यक्तिगत रोजगार भिसामा नेपालीलाई दुबई लगेर ठगी गर्ने क्रम बढेको छ । ठगीका घटना बढेपछि युनाइटेड अरब इमिरेट्स ९यूएई०को दुबईस्थित नेपाली महावाणिज्य दूतावासले सूचना जारी गर्दै यस्ता भिसामा रोजगारीमा नआउन अनुरोध गरेको छ ।

“रोजगारीका लागि यूएई आउन चाहने नेपाली नागरिकहरूलाई भिजिट भिसाबाट नभई संस्थागत रोजगार भिसाको सुरक्षित बाटो अपनाउनु हुन पुनः अनुरोध गरिएको छ,” महावाणिज्य दूतावासले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।

स्थापित र भरपर्दो रोजगारदाता कम्पनीमा आफ्नो योग्यता र अनुभव मिल्ने उच्च सीपयुक्त काम, आफूले यसभन्दा अघि रोजगारी गरिसकेको भरपर्दो कम्पनीको काम र यूएईमा रहेका आफ्नै परिवारका सदस्यले पहल गरी खोजिदिएको विश्वासिलो कम्पनीको कामबाहेक व्यक्तिगत रोजगार भिसामा यूएई नआउन सूचनामा भनिएको छ ।

संस्थागत रूपमा वैधानिक एवम् सुरक्षित माध्यमबाट यूएईमा रोजगारका लागि आउने विकल्प हुँदाहुँदै उल्लेख्य संख्यामा नेपाली नागरिकहरू असुरक्षित तवरले यूएई आउने र ठगीमा पर्ने एकपछि अर्को घटना देखिएको महावाणिज्य दूतावासले जनाएको छ ।

“नेपाली नागरिकहरू नेपालमा लाखौँ रुपैयाँ दलाललाई बुझाई अन्य मुलुकको भिजिट भिसा प्रयोग गरेर काठमाडौंबाट हवाई यात्रा सुरु गर्ने, शारजाह/दुबई ट्रान्जिटबाट सो मुलुकको यात्रा नगरी नितान्त ठगीको उद्देश्यले निकालिएका व्यक्तिगत श्रम भिसाको प्रयोग गरेर यूएई आगमन हुने र त्यसपछि कम्पनीसँग सम्पर्क हुन नसकी वा कम्पनीले वेवास्ता गरी अलपत्र पर्ने गरेको पाइएको छ,” महावाणिज्य दूतावासले भनेको छ ।

नेपालमा ठूलो रकम बुझाई यूएईको भिजिट भिसा प्राप्त गर्ने र यूएई आएपश्चात काम खोज्ने सोचले गर्दा पुनः दलालको फन्दामा परी केही नेपालीले दुःख पाइरहेको महावाणिज्य दूतावासले जनाएको छ ।

ठगी एवं कानुनी झमेला बेहोर्न पुगेका नेपाली नागरिकहरूबाट उल्लेख्य संख्यामा गुनासोहरू महावाणिज्य दूतावासमा प्राप्त भएको सूचना उल्लेख छ । “यस किसिमका ठगीकाबारे सचेत रहनु र ठगीबाट बच्नुको कुनै विकल्प छैन,” महावाणिज्य दूतावासले भनेको छ ।

 

तपाईको प्रतिक्रिया