Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

काठमाडौं, २५ भदौ २०८३ । भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट ६६९ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) का अनुसार, प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका छन् भने ४ वटा निर्माणाधीन आयोजना छन् । प्रभावित आयोजनामध्ये ११ वटामा गरी ९१६ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ ।

रसुवामा बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त ६ वटा आयोजनाको कुल जडित क्षमता ४९४ मेगावाट रहेको छ । ती आयोजनामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोसी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला छन् । यी आयोजनामा सम्पर्कविहीनको संख्या क्रमशः ५४५, ९३, ३, ३९, ६ र सातजना रहेको विवरणमा उल्लेख छ ।

६ वटा आयोजनामध्ये सबैभन्दा बढी सम्पर्कविहीन माथिल्लो त्रिशूली–१ आयोजनाका छन् । २१६ मेगावाटको उक्त आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत थिए । त्यसमध्ये हालसम्म ८७८ जनाको उद्धार गरिएको छ भने ५४५ जना सम्पर्कविहीन छन् ।

सम्पर्कविहीनमध्ये नौजना कोरियाली, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेको विवरणमा उल्लेख छ । उद्धार गरिएकामध्ये एकजनाको शव फेला परेको जनाइएको छ ।

रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन छन् । बाढीपछि उद्धारको क्रममा हराइरहेका व्यक्तिहरू फेला पर्ने क्रम जारी रहे पनि खोजी कार्यलाई निरन्तरता दिइएको छ । आयोजनाबाट सातजना सकुशल तथा उद्धार भएको विवरणमा उल्लेख छ ।

१२० मेगावाटको रसुवा–भोटेकोसी जलविद्युत् आयोजनामा तीनजना सम्पर्कविहीन छन् भने पाँचजना सकुशल तथा उद्धार भएको विवरण छ ।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा ३९ जना सम्पर्कविहीन छन् । आयोजनाको सुरुङबाट दुईजनालाई सकुशल निकालिएको भए पनि अन्यको अवस्था अझै यकिन हुन सकेको छैन । यस आयोजनाबाट १९ जनाको यसअघि नै उद्धार भइसकेको विवरणमा उल्लेख छ ।

२२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रमा ६ जना सम्पर्कविहीन छन् । केन्द्रको साइट कार्यालयमा ७१ जना कार्यरत रहेकोमा अन्य कर्मचारी सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सफल भएको विवरणमा उल्लेख छ । विद्युत्‌गृहमा फसेकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको टोली परिचालन गरिएको छ ।

त्यस्तै, ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा सातजना सम्पर्कविहीन रहेको र उनीहरूको अवस्था अज्ञात रहेको विवरणमा उल्लेख छ ।

बाढीबाट पूर्णरूपमा प्रभावित अन्य ६ आयोजनामा त्रिशूली जलविद्युत् केन्द्र, देवीघाट जलविद्युत् केन्द्र, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, मिडल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजना छन् । यी आयोजनाको कुल जडित क्षमता १७५ मेगावाट छ भने सम्पर्कविहीनको संख्या २२३ जना रहेको विवरणमा उल्लेख छ ।

२४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रमा तीनजना सम्पर्कविहीन छन्, जसमा दुईजना सुरक्षागार्ड र एकजना कर्मचारी छन् । केन्द्रका ७० जना सकुशल रहेको विवरणमा उल्लेख छ । देवीघाट जलविद्युत् केन्द्रमा एकजना सुरक्षागार्ड सम्पर्कविहीन छन् ।

६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा ३९ जना सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको विवरणमा उल्लेख छ ।

३७ मेगावाटको माथिल्लो त्रिशूली–३‘बी’ आयोजनामा १७८ जना सम्पर्कविहीन छन् । आयोजनाको आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा उत्खनन गर्दा बाढीले तीनवटा भवनको जगसहित बगाएर लगेको भेटिएको छ । खोजी तथा उद्धार कार्य निरन्तर जारी राखिएको छ ।

त्यस्तै, १५.६ मेगावाटको मिडल त्रिशूली गंगा आयोजनामा दुईजना सम्पर्कविहीन छन् भने एकजनाको उद्धार गरिएको छ । २५ मेगावाटको नुवाकोट सौर्य विद्युत् आयोजनामा भने सम्पर्कविहीनको संख्या उल्लेख गरिएको छैन ।

यस्तै, माथिल्लो त्रिशूली–१ मा हराइरहेकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन, कोरियाली र शेर्पासहितको टोली परिचालन गरिएको छ । सीमित स्रोतसाधनका आधारमा खोजी कार्य जारी राखिएको विवरणमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया