Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

काठमाडौं, २६ भदौ २०८३ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण अस्पताल घटनालाई गम्भीरतापूर्वक लिएको बताएकी छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले अस्पताल बाहिर ३० वर्षीया बबिता पासवानले बच्चा जन्माएको घटनाबारे उठाएका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताएकी हुन् ।

‘मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन् तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ,’ मन्त्री मेहताले भनिन् ।

संसद्मा उठेका विषयप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले राजविराज घटनाको जानकारी प्राप्त हुना साथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा २४ घण्टे स्पष्टीकरण माग गरेको बताइन् । ‘अस्पतालबाट स्पष्टीकरण पेस भइसकेको पनि छ,’ मन्त्री महेताले भनिन् ।

मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभा श्रेष्ठ र एथिकल कमिटीबाट डा। अजय शाहसहित पाँच सदस्यीय टोली बिहीबार नै राजविराज पुगिसकेका छ ।

टोलीमा मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखा प्रमुख डा। पवनजंग रायमाझी पनि सहभागी छन् ।

मन्त्री मेहताले घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पनि समिति गठन भइसकेको संसद्लाई जानकारी गराइन् । उनले घटनाका बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई अस्पतालले कामकाजबाट हटाएको र आवश्यक छानबिन सुरु भसकेको पनि बताइन् ।

 

तपाईको प्रतिक्रिया