काठमाडौं, २५ भदौ २०८३ । नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज तयार पारेको छ ।
भोटेकोसी बाढीले गत भदौ १० मा पक्की पुल बगाएपछि नदी वारपार आवतजावत प्रभावित भएको थियो । यसपछि सेनाले नदी वारिपारिका बस्तीलाई जोड्ने गरी ५७.९ मिटर लम्बाइ र ५.५ मिटर चौडाइको अस्थायी पुल जडान गरेको हो ।
बुधबार साँझ तयार भएको पुलबाट स्थानीयले आवतजावत थालेका छन् । सवारीका लागि पनि खुला गर्ने तयारी छ ।
यो पुलको भारवहन क्षमता ६० टनसम्म रहेको सेनाले जनाएको छ । सानो गाडी दुईतर्फी र ठूला, मालवाहक गाडी एकपटकमा एउटामात्र वारपार गर्न मिल्ने छ ।
एक्रो ब्रिज स्टिलका पूर्वनिर्मित भागहरूलाई आपसमा जोडेर छिटो निर्माण गर्न सकिने अस्थायी वा आपतकालीन पुल हो । बाढी, पहिरो, भूकम्प वा अन्य कारणले सडकको स्थायी पुल भत्किएर यातायात अवरुद्ध भएको अवस्थामा तत्काल आवागमन सञ्चालन गर्न यसको प्रयोग गरिन्छ ।
आवश्यकताअनुसार यसको लम्बाइ बढाउन वा घटाउन सकिने भएकाले कठिन भौगोलिक क्षेत्रमा पनि जडान गर्न तुलनात्मक रूपमा सहज हुन्छ । स्थायी पुल निर्माण वा मर्मत सम्पन्न नभएसम्म यातायात सञ्चालनलाई निरन्तरता दिन एक्रो ब्रिज उपयोगी मानिन्छ ।
बेत्रावती र त्रिशूली बजारमा पनि एक्रो ब्रिज जडान गर्ने सेनाको योजना छ ।






