झापा, २३ भदौ २०८३ । लागूऔषधसहित अर्जुनधाराका दुई युवक पक्राउ परेका छन् । हिजो दिउँसो ४ बजे मेचीनगर नगरपालिका वडा न.६ दुर्गा मन्दिरमा अर्जुनधारा- ११ देउनिया टोल बस्ने २१ वर्षीय गोबिन्द श्रेष्ठ र अर्जुनधारा- ११ कै ३० वर्षीय कृष्णबहादुर प्रधान लागूऔषधसहित पक्राउ परेका हुन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट लागूऔषध खरिद गरी ल्याइरहेको सूचनाको आधारमा उनीहरुको साथबाट प्लाष्टिकसहित ११ ग्राम ६५० मिलिग्राम र प्लाष्टिक बाहेक १० ग्राम २७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।






