झापा, २३ भदौ २०८३ । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमण बढ्दै जाँदा संक्रमितहरुको संख्या बढेर १३ पुगेको छ ।
पछिल्लो पटक भद्रपुर बजारकी १८ वर्षीया युवतीलाई जेईको संक्रमण देखिएको हो । उनलाई उपचारका लागि भारतको दिल्ली लगिएको छ । भद्रपुरकी ती युवतीलाई जेईको संक्रमण देखिएर उपचारका लागि भारत लिएर गएको जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा १३ जना संक्रमितमध्ये चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भइसकेको छ ।
देशभरिमै सबैभन्दा बढी झापामा जेईको संक्रमण र मृत्युदर भएपछि आगामी असोज ५ गतेदेखि खोप लगाइने भएको छ । असोज ५ देखि १९ गतेसम्म करिब पाँच लाख नागरिकलाई जेईविरुद्धको खोप लगाउने तयारी गरिएको हो ।






