Online Bichar
बुधबार, भाद्र २४, २०८३ | Wednesday, September 9, 2026

काठमाडौँ, २३ भदौ २०८३ । भोटेकोशी हिमबाढी प्रभावितको उद्धार तथा राहतका लागि छिमेकी चीन सरकारले पठाएको चौथो चरणको आपतकालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ ।

भदौ १० गते नेपालमा आएको हिमबाढी प्रवेश गर्दा नेपाल चीन सिमानाकादेखि त्रिशुलीको विभिन्न तटीय क्षेत्रमा ठूलो जनको क्षति पुर्याएको थियो । बाढी प्रभावित क्षेत्रमा जारी उद्धारका लागि सहयोगार्थ चीन सरकारले पठाएको चौथो चरणको राहत सामग्री मङ्गलबार नेपाल सरकारलाई हस्तान्तरण भएको हो ।

नेपालका लागि चीनका राजदूत झाङ माओमिङले नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई उक्त राहत सामग्री त्रिभुवन विमानस्थलमा हस्तान्तरण गर्नुभयो ।

राहत सामग्रीको यस चरणमा विशेषगरी विपत् उद्धार कार्यमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टीलका स्थायी चुम्बक जडित बाढी नियन्त्रण पम्पहरू, अतिरिक्त ब्याट्रीहरू, शव राख्ने फ्रिजरहरू र सौर्य ऊर्जाबाट चल्ने बत्तीहरू समावेश समावेश रहेको नेपालस्थित चीनको दूतावासले जनाएको छ ।

सबै सामग्रीहरू नेपाल सरकारले माग गरे बमोजिम अत्यावश्यक आवश्यकतालाई ध्यानमा राखी प्रदान गरिएको हो । जसले विपत् प्रभावित क्षेत्रहरूमा आपतकालीन उद्धार कार्य तथा पुनःस्थापनाका लागि सघाउने अपेक्षा दूतावासले व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया