काठमाडौं, २० भदौ २०८३ । लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि एयर इन्डियाका पाइलट बर्खास्त भएका छन् । एयर इन्डियाले अगस्ट ४ मा दिल्लीबाट फुकेट जाँदै गरेको विमान केही सेकेन्ड अचानक तल झर्दा २४ यात्रु घाइते भएको घटनामा संलग्न ‘पाइलट–इन–कमान्ड’लाई सेवाबाट बर्खास्त गरेको हो ।
परीक्षणमा ती पाइलटले लागु पदार्थ सेवन गरेको पुष्टि भएपछि एयरलाइन्सले कारबाही गरेको हो । विमान दुर्घटना अनुसन्धान ब्युरोको प्रारम्भिक प्रतिवेदनले नागरिक उड्डयन महानिर्देशनालयलाई ती पाइलटमाथि प्राथमिकताका साथ उपयुक्त कारबाही गर्न सिफारिस गरेको थियो ।
परीक्षणका क्रममा कमान्डर पाइलटमा लागु पदार्थ सेवनको नतिजा ‘नन–नेगेटिभ’ आएको उल्लेख छ । “उडानका क्रममा यस्ता पदार्थको प्रयोग गम्भीर चिन्ताको विषय हो,” भन्दै विमान दुर्घटना अनुसन्धान ब्युरोले नागरिक उड्डयन महानिर्देशनालयलाई प्राथमिकताका आधारमा उपयुक्त कारबाही गर्न सिफारिस गरेको थियो । घटनाको अन्तिम प्रतिवेदन आउन एक वर्ष वा सोभन्दा बढी समय लाग्न सक्नेछ ।
प्राविधिक समस्या र विमानमा क्षति
प्रतिवेदनअनुसार विमानले छोटो समय उचाइ गुमाउँदा तीनवटै हाइड्रोलिक प्रणालीले काम गर्न छाडेका थिए । अटोपाइलट डिस्इंगेज भएको थियो भने करिब दुई सेकेन्ड ‘स्टल वार्निङ’ बजेको थियो ।
विमान निर्धारित उडान उचाइ ‘फ्लाइट लेभल ३६०’ भन्दा सुरुमा ३७२ फिट माथि पुगेको र त्यसपछि २९२ फिट तल झरेको थियो । त्यसबेला विमान क्रुजिङ उचाइमा रहेकाले सिटबेल्ट संकेत बन्द थियो । अचानक विमान तल झर्दा यात्रु र चालक दलका सदस्य घाइते भएका थिए ।
घटनाका बेला सह–पाइलटले तत्काल नियन्त्रण सम्हालेका थिए । केही समयमै हाइड्रोलिक प्रणाली पुनः सञ्चालनमा आएपछि उडान सामान्य अवस्थामा फर्किएको थियो ।
प्रतिवेदनअनुसार विमानको भित्री भागका विभिन्न स्थानमा क्षति पुगेको छ । सिलिङ प्यानल चर्किएका वा खसेका छन् । ह्यान्ड्रेल बांगिएका वा भाँचिएका छन् । आपत्कालीन निकास र ओभरहेड बिनका पार्टपुर्जामा पनि क्षति पुगेको छ ।
एउटा शौचालयको कमोड आफ्नो स्थानबाट उप्किएको थियो भने पछाडिको ढोकानजिक रहेको क्रु सिट तथा अन्य सामग्रीमा समेत क्षति पुगेको थियो । घटनाको प्राविधिक पक्षबारे विस्तृत अनुसन्धान जारी छ । द हिन्दु






