काठमाडौं, १७ भदौ २०८३ । भोटेकोसी र त्रिशुली नदीमा आएको भीषण बाढीबाट ६६९ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना प्रभावित भएका छन्।
बाढीबाट प्रभावित आयोजनामध्ये आठवटा सञ्चालनमा रहेका र चार वटा निर्माणाधीन छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान०ले तयार गरेको विवरणअनुसार बाढीबाट क्षतिग्रस्त तथा प्रभावित ११ आयोजनाबाट ९४७ जना सम्पर्कविहीन छन्।
आयोजनाहरूको क्षति र त्यहाँ कार्यरत जनशक्तिको अवस्थासम्बन्धी विवरणमा केही आयोजनामा उद्धार तथा सकुशल रहेका व्यक्तिको संख्या स्पष्ट उल्लेख गरिएको छ भने केही आयोजनामा खोजी तथा उद्धार कार्य जारी रहेको छ।
सबैभन्दा ठूलो क्षति माथिल्लो त्रिशूली–१ मा
२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा सबैभन्दा धेरै जनशक्ति सम्पर्कविहीन छन्। आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत थिए । ती मध्ये ८७६ जनाको उद्धार भएको छ भने ५५७ जना अझै सम्पर्कविहीन रहेको आयोजनाका प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ। सम्पर्कविहीनमध्ये ११५ जना मुख्य सुरुङ र हेडवर्क्स (बाँध) क्षेत्रमा फसेको आशंका गरिएको छ।
सम्पर्कविहीन ५५७ जनामा प्रवर्द्धक कम्पनीका १५, परामर्शदाता जेड कन्सल्टका सात, मुख्य ठेकेदार दुसानका ५६, पावर चाइनाका ३८५ र इलेक्ट्रोमेकानिकल ठेकेदार एन्ड्रिज हाइड्रोका ९४ जना रहेका छन्। १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
उनीहरूमध्ये भूमिगत विद्युत्गृहमा कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन। यस आयोजनामा ३ जना सुरक्षित स्थानमा पुगेका र ४ जना बाढीको दुई दिनपछि भूमिगत डिस्चार्जबाट आफैँ बाहिर निस्किएपछि उद्धार भएका छन्। रसुवा–भोटेकोसीका पाँच जनाको उद्धार १२० मेगावाटको रसुवा–भोटेकोसी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीनको संख्या ४ जना रहेको छ।
आयोजनास्थलमा सुरक्षित स्थानमा पुगेका ३ जना चिनियाँ र २ जना नेपाली गरी ५ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको विवरणमा उल्लेख छ। लाङटाङ खोलामा ४१ जना सम्पर्कविहीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ४१ जना अझै सम्पर्कमा आएका छैनन्। सुरुङभित्र १५० मिटरसम्म पुगेर खोजी गरिएको र खोजी कार्यलाई थप तीव्र बनाइएको आयोजनाले जनाएको छ। आयोजनाको प्रारम्भिक विवरणमा १९ जनाको उद्धार भएको उल्लेख छ।
चिलिमे २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रबाट ६ जना भूमिगत विद्युत्गृहमा फसेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको विज्ञ टोली परिचालन भए पनि बुधबारसम्म उनीहरूसम्म पुग्न सकिएको छैन। चिलिमेको साइट कार्यालयमा ७१ जना कार्यरत रहेकामा विद्युत्गृहमा काम गरिरहेका ६ जना फसेका छन् भने साइट कार्यालयमा रहेका अन्यले सुरक्षित स्थानमा पुगेर ज्यान जोगाएका छन्।
मैलुङ खोलाका सातजनासँग सम्पर्क छैन पाँच मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत सात जना एक सातासम्म पनि सम्पर्कमा आउन नसकेको विवरणमा उल्लेख छ। उनीहरूको अवस्था अज्ञात रहेको छ। त्रिशुली जलविद्युत् केन्द्रका तीनजना सम्पर्कविहीन छन् । २४ मेगावाटको त्रिशुली जलविद्युत् केन्द्रमा कार्यरत ७३ जनामध्ये ७० जना सकुशल रहेको र तीन जना सम्पर्कविहीन रहेको पछिल्लो विवरण छ।
सम्पर्कविहीन हुनेमा दुईजना सुरक्षागार्ड र एकजना कर्मचारी छन्। माथिल्लो त्रिशूली–३ ‘ए’मा ४२ जना फसेको अनुमान ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’को भूमिगत विद्युत् गृहमा मर्मतका लागि गएका ४२ जना फसेको अनुमान गरिएको छ। सुरुङभित्र बाढीले ल्याएको ढुंगा, बालुवा र माटो थुप्रिएका कारण उद्धार टोलीलाई विद्युत्गृह पुग्न कठिनाइ भइरहेको छ। सुरुङभित्र प्रवेश गर्ने बाटो बनाउन तथा पानी पम्पिङ गरेर बाहिर निकाल्ने काम जारी रहेको छ।
देवीघाटमा एक सुरक्षागार्ड बेपत्ता १४.१ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रबाट एक जना सुरक्षागार्ड सम्पर्कविहीन छन्। केन्द्रमा कार्यरत अन्य कर्मचारीहरू सुरक्षित स्थानमा पुगेका छन्। माथिल्लो त्रिशूली–३ ‘बी’मा १९१ जना सम्पर्कविहीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाबाट १९१ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। सुरुङमा काम गरिरहेका २३ जना भने बाहिर निस्कन सफल भएका छन्। उनीहरूको खोजीका लागि एक्स्काभेटर परिचालन गर्ने तयारी गरिएको छ।
मध्य त्रिशुली गंगाका दुई जना बेपत्ता १५.६ मेगावाटको मध्य त्रिशुली गंगा जलविद्युत् आयोजनाबाट २ जना सम्पर्कविहीन छन्। एक जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको छ। नुवाकोट सौर्य आयोजना पनि प्रभावित २५ मेगावाटको नुवाकोट सौर्य विद्युत् आयोजनाको १९.६ मेगावाट उत्पादन गर्ने सौर्य प्लान्ट पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
सात स्थानमा राखिएका सौर्य प्लान्टमध्ये चार स्थानका प्लान्ट बाढीले बगाएको विवरणमा उल्लेख छ। आयोजनामा कार्यरत सबै सुरक्षित रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। कार्यालय तथा नियन्त्रण भवनसमेत बगेका छन्।






