झापा, १७ भदौ २०८३ । अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ विजनेसमार्फत सर्वसाधारणलाई ठगी गर्दै आएको नेटवर्किङ कम्पनी ग्लोवल ओरियन्सको बिर्तामोडमा रहेको कार्यालयमा छापा मारी प्रहरीले ४१ जनालाई पक्राउ गरेको छ ।
बिर्तामोड-५ स्थित बुद्धनगरमा रहेको ग्लोबल ओरियन्सको कार्यालयमा आज दिउँसो ३ बजेतिर इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठक नेतृत्वको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा इलाम घर भएका अर्जुनधारा मल्टीे पर्पोजका संचालक सुजन लिम्बू, ग्लोबल ओरियन्सका शाखा प्रमुख पिताम्बर कट्टेलसहित २२ जना महिला र १९ जना पुरुष पक्राउ परेका हुन् । प्रहरीले औषधी , चेकजाँच गर्ने मेशिन , कागजात र केही नगद बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
शैक्षिक परामर्श र तालिम गराउने उद्धेश्यले खोलिएको अर्जुनधारा मल्टी पर्पोज नामक कम्पनीसंग मिलेर ग्लोबल ओरियन्सले अवैध रुपमा स्वास्थ्य जाँच गर्नुका साथै औषधी बिक्री वितरण गर्दै आएको थियो । होलबडी चेक गरिदिने भन्दै कक्षा १२ पढेका पिताम्बर कट्टेलले एउटा मेशिनबाट स्वास्थ्य जाँच गराउँदै आएका थिए । चेकजाँच गरेवापत् एक हजार रुपैयाँ शुल्क लिने गरेका थिए । उनीहरुले सबै रोग निको पारिदिने भन्दै गाउँका सर्वसाधारणलाई झुक्यानमा पार्दै आएका थिए ।






