Online Bichar
बिहिबार, भाद्र १८, २०८३ | Thursday, September 3, 2026

बिर्तामोड, १७ भदौ २०८३ । झापाको बिर्तामोडमा बस ओभरटेक गर्ने क्रममा तीनवटा सवारी साधन आपसमा ठोक्किँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो करिब ३ः२० बजे बिर्तामोड नगरपालिका–१ स्थित बिर्तामोड आँखा अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–०१८ प ५७५४ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४७०७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बसको दायाँतर्फ ठोक्किएको थियो ।

बसमा ठोक्किएपछि पल्सर विपरीत दिशाबाट आउँदै गरेको मे १० प ७२५७ नम्बरको १५० सीसीको एफजेड मोटरसाइकलसँग समेत ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पल्सर चालक अर्जुनधारा नगरपालिका–६ रिजालगाउँका ३३ वर्षीय इन्द्रमणि अर्याल गम्भीर घाइते भएका थिए । टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका अर्याललाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारका क्रममा उनलाई दिउँसो ४ः१८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एफजेड मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–२ का २० वर्षीय अनिश राजवंशी घाइते भएका छन् । उनको दाहिने खुट्टा र हातमा चोट लागेको छ । बोल्न सक्ने अवस्थामा रहेका राजवंशीको कञ्चनजंघा अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न बस, बस चालक विराटनगर महानगरपालिका–४ का ३८ वर्षीय गंगा श्रेष्ठ तथा दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया