काठमाडौं, १६ भदौ २०८३ । तिब्बतको केरुङ काउन्टीमा पहिरोका कारण थुनिएर बनेको बाढीजन्य तालका कारण त्यसको आसपासका क्षेत्रमा अझै पनि ठूलो जोखिम कायमै रहेको त्यहाँको जलस्रोत मन्त्रालयले जनाएको छ ।
तल्लो तटीय क्षेत्रका नदी किनारहरूमा भत्कने जोखिम कायमै रहेकाले पुनः नयाँ ताल बन्न सक्ने खतरा भएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ ।
चीनतर्फ बग्ने नेपालको छोछेन खोला र चीनको पुरेपु साङ्पो नदी मिसिने स्थानको कटान खाल्डो वरपरका हिमनदीहरू भत्कने सम्भावना अझै उच्च रहेको पछिल्लो मूल्यांकनानुसार देखिएको पनि चाइना डेलीले जनाएको छ ।
सोमबार अनुगमनपछि गरिएको मूल्यांकनानुसार नेपालतर्फको उक्त कटान क्षेत्रमा पानीको सतह घट्दै गएको छ । सोमबार बिहानसम्म यसको जलसतह क्षेत्र ८३ हजार वर्गमिटरमा झरेको छ ।
सोमबार बिहान ड्रोनबाट लिइएको दृश्यमा तालभन्दा तीन किलोमिटर तल्लो तटीय क्षेत्रका दुवै किनारमा सानाठूला धेरै पहिरो गएको देखिएको समाचारमा उल्लेख छ ।
हाल नदी आफ्नै बहावमा बगे पनि नयाँ पहिरोले नदी थुनिएर पुनः ताल बन्न सक्ने जोखिम उच्च रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।






