Online Bichar
बिहिबार, भाद्र ११, २०८३ | Thursday, August 27, 2026

काठमाडौं, ११ भदौ २०८३ । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितहरूलाई आम नागरिकले दिने सहयोगमा स्क्याम (ठगी) हुनसक्ने भन्दै सचेत रहन नेपाल प्रहरी साइबर ब्युरोले अनुरोध गरेको छ ।

संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने भन्दै सचेत रहन ब्युरोले आग्रह गरेको छ ।

‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’ को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने ब्युरोले बताएको छ ।

यस्तै, फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबरलगायतका प्लेटफर्ममा फरक–फरक ‘राहत कोष’ वा ‘सहयोग अभियान’ का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, ‘राहत सहयोग दर्ता’ का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाइ ओटीपी, पासवर्ड चोरी गर्ने, ‘म सुरक्षित छु, मलाई पैसा पठाइदिनू’ भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाइ आर्थिक सहयोग माग गर्नेप्रति समेत सचेत रहन प्रहरीले भनेको छ ।

कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

 

तपाईको प्रतिक्रिया