काठमाडौं, ९ भदौ २०८३ । पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध मंगलबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो।
उनीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हो।
आयोगका अनुसार साहले २०४६ माघ १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्मको जाँच अवधिमा विभिन्न स्रोतबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ वैधानिक आय आर्जन गरेको देखिएको छ। तर,सोही अवधिमा जग्गा खरिद,सेयर खरिद,सवारी साधन खरिद,ऋण सापटी भुक्तानीलगायत तथा अन्य लगानीमा ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको अख्तियारको दावी छ।वैधानिक आयभन्दा ३ करोड ७१ लाख ८४ हजार ५ सय रुपैयाँ बढी खर्च तथा लगानी गरेको देखिएपछि साहले उक्त रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ।
आयोगका अनुसार साहले गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति,श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत राखेको पाइएको छ। गैरकानुनीरुपमा श्रीमतीको नाममा खरिद तथा लगानी गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।
साहविरुद्ध बिगोबमोजिम कैद र जरिवाना,गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति जफत तथा झुट्टा सम्पत्ति विवरण पेश गरेको कसूरमा थप सजायको माग दावी गरेको आरोप(पत्रमा उल्लेख छ।






