Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

काठमाडौं, ९ भदौ २०८३ । प्रतिनिधिसभाका सांसदहरुले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो ध्यानाकर्षण गराएका हुन् । बैठकमा नेकपा (एमाले) का सांसद क्षितिज थेवेले कुवेतमा न्यूनतम १५० केडीभन्दा कम पारिश्रमिकमा नेपाली श्रमिक नपठाउने निर्णय सरकारी तहबाट गर्नुपर्ने बताए ।

उनले श्रमको अवस्था र श्रमिकले भोगिरहेको समस्या हल हुनेगरी पारिश्रमिक तोेकिनुपर्ने उल्लेख गरे । सांसद थेवेले वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारको समस्या समाधानका लागि श्रममन्त्री स्वयं टोलीसहित सम्बन्धित देशको भ्रमणमा जानुपर्ने बताए ।

अन्तर्राष्ट्रिय स्तरको तालिम दिएर मात्र नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउनुपर्नेमा जोड दिँदै दक्ष र प्रशिक्षित जनशक्ति पठाउन सके श्रमसम्बन्धी धेरै समस्या समाधान हुने उनको भनाइ छ । ”मेरो दुईवटा अनुरोध छ । एउटा, अब १५० केडीभन्दा कममा कुवेतमा श्रमिक नपठाउने भनेर एउटा निर्णय गर्‍यौँ भने सही हुन्छ । यसमा केही तलमाथि हुनसक्छ । १२५ केडी मात्र भयो भने पनि श्रमिकले महिनाको १०० केडी त बचाउन सक्छ नि,” उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङलाई अन्य क्षेत्रभन्दा फरक ढंगले अनुगमन गर्नुपर्ने बताइन् । आउटसोर्सिङमार्फत काम गर्ने श्रमिकलाई बोलाएर उनीहरूको अवस्था र समस्या बुझ्न समितिले पहल गर्नुपर्ने उनको भनाइ छ ।

सांसद न्यौपानेले घरेलु कामदारको दर्ता प्रक्रियामा आबद्ध हुन नसकेका श्रमिकलाई कसरी औपचारिक प्रणालीमा ल्याउने भन्ने विषयमा स्पष्ट नीति आवश्यक रहेको उल्लेख गरिन् । ”हामीले घरेलु कामदारको कुरा गर्दा दर्ता प्रक्रियामा नै आबद्ध हुन नसकेकालाई कसरी औपचारिकरण गर्ने ? कसैले बिहान ५ बजेदेखि ७ बजेसम्म एउटा घरमा काम गर्नुहुन्छ, अर्को समयमा अर्को घरमा गर्दै एकैदिनमा ५, ६ घरमा काम गर्नेहरू पनि त हुनुहुन्छ । यसलाई हामीले कसरी हेर्छौँ त ??” उनको प्रश्न छ ।

रास्वपाकी सांसद सिर्जना श्रेष्ठले आउटसोर्सिङमार्फत आएका अदक्ष जनशक्तिका कारण निजी क्षेत्रमा ठूलो समस्या सिर्जना भएको बताइन् ।श्रमिकले काम गर्न नचाहे सहजै काम छाड्ने तर श्रम ऐनका कारण रोजगारदाताले तत्काल हटाउन नसक्ने अवस्थाले निजी क्षेत्र समस्यामा परेको उनको भनाइ छ । अदक्ष जनशक्तिलाई तालिम दिएर दक्ष बनाए पनि थोरै बढी पारिश्रमिक पाएपछि अर्को कम्पनीमा जाने प्रवृत्ति रहेको भन्दै यसलाई रोक्न आवश्यक रहेको उनले बताइन् । न्युज एजेन्सी नेपाल

तपाईको प्रतिक्रिया